बाह्रवर्षमा खोलो नफर्कियोस्

सीताराम भट्टराई


आज ०६१ साल माघ १९ मा राजा ज्ञानेन्द्रले दलहरुको घाँटी निचोरेर सत्ता हातमा लिएको ठयाक्कै १२ वर्ष पुगेको दिन । नेपाली उखान नै छ, ‘१२ वर्षमा खोलो पनि फर्कन्छ’ । कतै त्यो चरितार्थ हुने संकेत त होइन ? अहिले यो चिन्ता बढ्दो छ । कतिपय दलहरु ०१७ साललाई सम्झन र इतिहासलाई पुनराबृत गराउन समेत राजी देखिएका छन् । धेरै पुराना कुरा कोट्याई रहनु पनि शायद आवश्यक नपर्ला हामीले गएको बाह्र वर्षमा के भोग्यौ र के देख्यौ त्यो बिर्सिहाल्ने खालका छैनन् ।

नेपालको स्वाधिनता इतिहास मै सबैभन्दा कमजोर यहीबेला भयो। हाम्रै नेताहरुले पराईलाई घरेलु मामिलामा यति सकृय बनाए की नेपालको सुष्म व्यवस्थापनको जिम्मा एउटा तल्लो तहको कर्मचारीको हातमा हाम्रा ‘असल’ छिमेकीहरुले सुम्पिए । तिनै छिमेकीको आड र भरोसामा नेपालको नयाँ संबिधानलाई असफल पार्ने प्रयत्न हुँदैछ । यसो गर्दा पनि नमान्ने उसो भन्दा पनि नसुन्ने तर बरु राजा नै ठिक भनेर सार्वजनिकरुपमा अभिव्यक्ति दिने उपेन्द्र यादबहरुको उदेश्य के हो ?हामी सहज रुपमा बुझ्न सक्छौ । कसको स्वार्थ पूर्तिकालागि कहाँबाट आएको पैसाले संधै बाउँठो कुरागर्ने तागत उनीहरुलाई दिएको हो, सार्वजनिक गरिरहनु जरुरी छैन । घाम जत्तिकै छर्लंग छ ।

यी सबै हर्कतबाट नेपाली जनता यति निराश भैसकेकाछन् कि राजनीतिको ‘र’ सँग नै एलर्जी शुरु भएको छ ।  र, यहाँनेर बुझ्नुपर्छ गर्न खोजिएको नै यहि हो । नेपालको नागरिकताधारी नेपाली र नेपाल कै शत्रुहरु दिनप्रतिदिन सफल र ‘नेपाल राष्ट्र अनि यहाँका सच्चा नेपाली’ पलपल असफल बन्दै गएका छन् ।

नेपाली जनताको सानो त्याग, योगदान र पराक्रमले गणतन्त्र नेपाल बनेको थिएन तर अहिले फेरी कुनै रुपमा राजतन्त्र ब्युँतियो भनेपनि ‘ठिकै भयो’ को शैलीमा जनताको स्वीकारोक्ति आउँछ कि जस्तो देखिन्छ ।

उत्तरी छिमेकी चीनका उच्चस्तरीय प्रतिनिधिले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको भन्ने चर्चा ब्याप्त छ । कतिपय समाचार स्रोतले त यसलाई पुष्टी पनि गरेको अवस्था छ । यदि यो साँचो हो भने लोकतन्त्र र गणतन्त्रलाई खतराको घण्टी बजेकै हो । यस्ता कुरालाई सामान्य रुपमा लिनु हुँदैन, लिन सकिंदैन । हामीलाई हाम्रै नेताहरुले यति कमजोर पारेका छन् कि नेपालका सुरक्षा निकाय, जासुसी संस्था सबै या देखेको नदेखे झैँ गर्छन वा भित्र भित्रै गुम्सिन बाध्य छन् । तथ्यले पुष्टी नगर्ने सत्य के हो भने नेपालमा सरकार गठन या अपदस्थ दुवै काम नेपालीले गर्न सक्दैनन् । पराइले आफ्नो अनुकुलतामा गठन गरेको सरकारले नेपाली जनताको हित, आर्थिक समृद्धि र स्वाभिमानको रक्षाका लागि काम गर्ने कुरै भएन ।

यो स्थितिमा देशलाई पुर्याउन जनताले कुनै गल्ति गरेका छैनन् । ‘पाले पुण्य, मारे पाप’ भन्दै राजनीतिक दलका नेतालाई आफूमाथि शासन गर्न निर्वाद छाडीदिएकै छन् । तर पनि किन मुलुक जहींको त्यहीं छ ?

दोस्रो जनआन्दोलन पछी अब राजनीतिक क्रान्ति पुरा भयो, आर्थिक क्रान्तिमा हामी प्रवेश गर्यौ भन्ने यिनै नेताहरु होइनन् ? किन देश झन् भन्दा झन् गरिब, कमजोर र परनिर्भर बन्दैछ ?

अहिले नेपाली जनताले खाजिरहेको जवाफ यी र यस्तै धेरै प्रश्नको हो । तर उत्तर कसले दिने ? यो त्यो सवाल हो, सबैभन्दा पहिले यसको जवाफ आवश्यक छ ।

तर, पछिल्ला घटनाक्रमले के भनिरहेकाछन् भने नेपालमा अब यस्ता कुरा गर्नु नै बेकार छ । जवाफदेहिता भन्ने शब्द नै नेपाली शब्दकोशबाट हटाए हुने देखिन्छ । आम जनता, संचारमाध्यम, बुदिजिवी, पेशाकर्मी सबैले बिरोध गर्दा-गर्दै यहाँका नेताहरु एक भ्रष्ट्र, अनैतिक र अयोग्य व्यक्तिलाई अख्तियार प्रमुख जस्तो जिम्मेवार र गरिमामय पद दिन्छन् । उनले आफुहरुको स्वार्थ अनुरुप कदम चालुन्जेल सबै निर्णय र प्रक्रिया ठिक लाग्छ हाम्रा नेताहरुलाई । सारा नेपालीले यो त अचाक्ली भो भन्दा कानमा तेल हाल्छन्, भ्रष्ट्रका मतियारहरु । जब बाछो खाने बाघले माउ माथिनै धावा बोल्यो तब यिनको होस खुलेको हो कि होइन । आजको नेपालमा प्रधानन्यायाधिशको कुर्सी यदि एकमात्र ‘ज्युँदी’ मान्छे शुशिला कार्की नहुँदीहुन् त नेपालीको भोलि कति नारकीय बन्थ्यो होला ? कल्पना नै कहालीलाग्दो छ ।

यसो किन भनिएको हो भने सांसद हौ भन्ने ६०१ जना हुतिहाराहरुसँग त गलतलाई गलत भन्न सक्ने सामान्य मान्छेमा हुने स्वाभाविक क्षमता समेत रहेनछ । नत्र कसरी पुष्टी हुँदैन लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने आधार ? सामान्य बिबेक भएको मान्छेले पत्याउन मिल्ने कुरा होइन यो ? कोहि खण्डन गर्न सक्छ, लोकमानमाथि महाअभियोग नलाग्ने मनशायसहित संसदीय समितिले रिपोर्ट बुझाउन लागेको समाचारको ? बिडम्बना अर्कै छ, दिल्लीतिरबाट खबर आइरहेको छ, लोकमानसिंहलाई ५ तारे होटलमा बसेर भारतीय संस्थापनसँग कुरा गर्ने वातावरण नेपाल सरकार कै प्रतिनिधिले गरेकाछन् । उनका लागि खर्चको जोहो गरिदिने र भेटघाटको सुत्रकारको भूमिकामा दिल्ली स्थित दुताबासका बाणिज्यदुत सकृय छन् जसलाई उनै लोकमानसिंहले बिगतमा सबै कुकर्म ढाकछोप गर्दै दिल्लीबासको अवसर दिलाएका थिए ।

आज विद्याकी देवी सरस्वतीको पूजा गरिने दिन, बसन्त श्रवणबाट दूरदर्शी ज्ञान सिक्नुपर्ने शुभघडी, नयाँ कामको थालनी, नयाँ अठोट र प्रतिज्ञा गर्ने दिन हाम्रा नेताहरुले बिगतबाट ज्ञान सिकुन्, सन्ततिको श्रापबाट बचुन् । जे भएपनि अहिले सम्मका उपलब्धिको जस यिनै निकम्माहरुलाई दिनै पर्छ । जनआक्रोशको निशानामा परेर यिनले अकाल मृत्युवरण गर्नु नपरोस् । अन्त्यमा, “असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मॄत्योर्मा अमॄतंगमय ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया