जहाजबाटै आयो ३३ किलो अवैध सुन, मूल्य १५ करोड

काठमाडौं, पुस २२ । अरेबियाबाट गोपालबहादुर शाही बुधबार १०–१२ किलो अवैध सुन लिएर नेपाल आउँदै छन् भन्ने सूचना प्रहरीलाई पहिल्यै थियो । सोही सूचनालाई पछ्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो । तर, शाही लगेज नै नलिई विमानस्थलमा उत्रिएपछि प्रहरी अधिकारीहरू निराश भए । आफ्नो सूचना गलत भएको हुनसक्ने अनुमान लगाए । तर, शाहीलाई पिछा गर्न छाडेनन् ।

सुराकीसँग बुझ्दा थाहा भयो कि उनको लगेज बिहीबार मात्र आउँदै छ । शाहीलाई ‘फलो’ गर्दै सिआइबी टोली विमानस्थल पुग्यो । आफ्नो लगेज लिन शाही भन्सार पुगे । भन्सारको चेकिङमा कार्यरत कर्मचारीले सोधपुछ नै नगरी उनको लगेज दिए । शाही ट्याक्सी चढेर एयरपोर्टबाट गौशालातर्फ आए । तर, तिलगंगामै उनी चढेको ट्याक्सी रोकियो र उनलाई गौशाला पुर्‍याइयो ।

सुन कुरेर जोरपाटीमा बसेका दुई युवक पनि समातिए

‘कसलाई दिन सुटकेसमा सुन ल्याएको ?’ प्रहरीले उनीमाथि सोधपुछ अघि बढायो । उनले दुईजनाको नाम दिए । शाहीलाई लिएर प्रहरी टोली जोरपाटी पुग्यो । बा.४च ९११४ नम्बरको कारमा दुई युवक उनलाई पर्खिरहेका थिए । उनीहरूलाई समेत लिएर प्रहरी टोली गौशाला आयो । उनीहरूको कारमा खानतलास गर्दा थप अवैध सुन बरामद भयो । जोरपाटीमा पक्राउ परेका दिलबहादुर थापा र सन्तोष काफ्ले विदेशबाट तस्करी गरी ल्याएको सुन मालिकसम्म पुर्‍याउने व्यक्ति थिए ।

सुटकेसभित्रको सुन खोज्न प्रहरीलाई डेढ घन्टा लाग्यो

सिआइबीले तीनैजनालाई नजिकको महानगरीय प्रहरी वृत्त गौशाला ल्यायो । सुटकेस खोल्नुअघि प्रहरीले मिडियालाई बोलायो । त्यतिवेला साढे २ बजेको थियो । उनीहरूसँग कति सुन छ भन्ने प्रहरीलाई जानकारी थिएन । ३ बजे पत्रकार टोली वृत्तमा जम्मा भइसकेका थिए । पत्रकारका क्यामरा अगाडि सिआइबीकी एसपी मिरा चौधरी, डिएसपी प्रवीण पोखरेललगायतले सुटकेस खोल्न थाले । सुटकेसभित्र किचेनका सामानदेखि गाडीका पार्टपुर्जासम्म थिए ।

बोतलको आकारमा केही गह्रौँ डब्बाहरू थिए । निकै मिहिनेतपछि मात्र उक्त बोतल आकारको वस्तु प्रहरीले खोल्यो । त्यसभित्र बिस्कुट आकारमा सुनका टुक्राहरू थिए, जुन कार्बन पेपर र टेपले बेरेर राखिएको थियो । यति बलियोसँग ती सुन बेरेर राखिएको थियो कि प्रहरीलाई खोल्नै करिब डेढ घन्टा लागेको थियो ।

‘१० तोला तौलका दुई सय ८२ वटा सुनका बिस्कुट रहेछन्,’ सुन निकालिसकेपछि पसिना पुछ्दै सिआइबीकी एसपी चौधरीले भनिन्, ‘औँठी १९ वटा र १८ वटा सुनजडित माला पनि बरामद भएको छ ।’

बरामद सूनको मूल्य १५ करोड

दुई सय ८२ वटा सुनका बिस्कुटको तौल करिब ३२ किलो ८ सय ८१ सय ग्राम छ । त्यस्तै, औँठी र माला करिब ६ सय ८४ ग्रामबराबरको रहेको प्रहरीले जनाएको छ । बरामद सुन करिब १५ करोड मूल्यबराबरको छ । प्रहरीले एकैपटक बरामद गरेको यो दोस्रो ठूलो परिमाण हो । विमानस्थलबाटै तस्करी भई आएको यति धेरै परिमाणको सुन भने पहिलोपटक बरामद भएको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए । विदेशबाटै आएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको उनी बताउँछन् । तस्करीको सुन कसको भन्ने विषयमा अनुसन्धान जारी रहेको उनले बताए ।

सुन तस्करीमा विमानस्थलकै उच्च अधिकारीको मिलेमतो

स्रोतका अनुसार सोधपुछका क्रममा पक्राउ परेका शाहीले विमानस्थलका उच्च अधिकारीहरूले नै सहयोग गरेको संकेत गरेका छन् । भन्सारको स्क्रिनिङमा सुनलगायत अवैध वस्तु कर्मचारीलाई थाहा हुन्छ । तर, ३३ किलो सुन एउटै सुटकेसमा लुकाउँदा पनि थाहा नपाउनुले यसमा मिलेमतो रहेको प्रहरी दाबी छ । स्रोतका अनुसार सुन रहेका ब्यागहरूबारे भन्सारका कर्मचारीलाई पहिले नै सूचना दिइएको हुन्छ, जसका कारण उनीहरूले ती ब्यागहरूमा चेकजाँच गर्दैनन् ।

भरिया मात्र पक्राउ

पक्राउ परेका तीन युवकमध्ये शाही बुधबार साउदी अरेबियाबाट एयर अरेबियाको विमानबाट नेपाल आएका थिए । उनलाई बिहीबार मात्र एयरलाइन्सले लगेज ल्याइदिएको थियो । सुटकेसमा विभिन्न सामानभित्र सुन लुकाइएको थियो । शाहीले ल्याएको सुन लिन जानेमा थापा र काफ्ले छन् । उनीहरू भरिया मात्र भएको एसपी चौधरीले बताइन् ।

बरामद सुन कसको ?

विमानस्थलबाट हुने सुन तस्करीमा ठूलै गिरोह संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका शाही ६ दिनअघि मात्र साउदी अरेबिया गएका थिए । सुन तस्करीकै लागि उनी पाँचपटक साउदी गइसकेका छन् । पक्राउ परेकाहरूमाथि विस्तृत अनुसन्धान नगरी सार्वजनिक गर्दा मुख्य तस्करलाई भने भाग्न सहज भएको छ । प्रहरीले पक्राउ गरेलगत्तै मिडियामार्फत सार्वजनिक गरेको थियो । सुन लिन जोरपाटीमा बसेका दुई युवक काँडाघारीबाट आएका थिए । उनीहरूमाथि विस्तृत अनुसन्धान गर्न बाँकी रहेकाले मुख्य तस्कर पत्ता नलागेको डिआइजी सिलवाल बताउँछन् ।

प्रहरीको कमिसन घट्यो

विगतमा प्रहरीले बरामद सुनको १५ प्रतिशत कमिसन पाउने गरेका थिए । तर, अहिले जतिसुकै सुन बरामद गरे पनि पाँच लाख रुपैयाँ मात्र कमिसन पाउँछन् । कमिसनको विषयमा पटक–पटक विवाद भएपछि सरकारले भन्सार चोरी–पैठारीसम्बन्धी नियमावली संशोधन गरी कमिसन घटाएको हो ।

पाँच लाखभन्दा कम मूल्यको सामान बरामद गरे त्यसको १० प्रतिशत तथा पाँच लाख वा सोभन्दा माथिको सामान बरामद गरे पाँच लाख सुराकी पाउने प्रावधान राखिएको छ । चार वर्षअघि सिआइबीले नै बरामद गरेको ३५ केजी सुनको कमिसनको विषयमा सिंगो प्रहरी नै बदनाम भएको थियो । सुराकीले पाउने कमिसन पनि आफैँले राख्न लागेको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो । जुन विवाद हालसम्म टुंगिएको छैन । कसिमन घटाएपछि प्रहरीले पनि पहिलेजस्तो सुन बरामद गर्न चासो दिएको छैन ।

किन हुन्छ तस्करी ?

सुन तस्करीमा धेरै नाफा भएकाले पनि ठूलो मात्रामा नेपालमा सुन तस्करी हुने गरेको छ । भन्सार नतिरी सुन भित्रााउँदा एक किलोमा करिब पाँच लाख नाफा हुने गर्दछ । अहिले बजारमा सुनको अभाव रहेकाले पनि तस्करी बढेको हो । तस्करीको सुन राजधानीका सुन पसलबाटै बिक्री हुने गरेको विगतका प्रहरी अनुसन्धानले पुष्टि गरिसकेका छन् ।

चीनबाट सडकमार्ग हुँदै आउने सुन प्रहरीले पटक–पटक बरामद गरे पनि विमानस्थलबाट आउने सुन ठूलो परिमाणमा यसरी बरामद भएको यो पहिलोपटक हो । सुन तस्करीमा हुन्डी कारोबारको सम्बन्धसमेत जोडिएको छ । हुन्डीको कारोबार मिलाउन साउदीबाट नेपालमा सुन तस्करी भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् । सुन र हुन्डीको कारोबारमा एउटै समूह संलग्न छन् ।

हामीलाई चेकजाँचको अधिकार छैन स् एयरपोर्ट डिआइजी गोविन्द निरौला

विदेशबाट आउनेमाथि भन्सारले मात्र चेकजाँच गर्दै आएको छ, हामीलाई अधिकार छैन । कोही व्यक्तिलाई शंका लागेको खण्डमा मात्र हामीले नियन्त्रणमा लिएर खानतलासी गर्न पाउँछौँ ।

छानबिन सुरु गरेका छौँ : एयरपोर्ट भन्सार प्रमुख, नारायणप्रसाद सापकोटा

भन्सार चेकजाँचबाटै ठूलो परिणाममा सुन पास भएपछि एयरपोर्ट भन्सारका कर्मचारीमा छानबिनमा तानिएका छन् । चेकजाँचमा संलग्न कर्मचारीमाथि आफूले छानबिन सुरु गरेको विमानस्थल भन्सार प्रमुख नारायणप्रसाद सापकोटाले बताए ।
सुन बरामद भएको थाहा पाएलगत्तै स्क्रिनिङमा संलग्न कर्मचारीमाथि सोधपुछ गरेको छु । सिसिटिभी फुटेज पनि सुरक्षित राखेर थप अनुसन्धान अघि बढाइएको छ, ठूला घटना पत्ता लगाउने सिआइबीले पनि सायद यसमा कर्मचारीको मिलेमतो भए–नभएको पत्ता लगाउनेछ ।

विमानस्थलकै उच्च अधिकारीको मिलेमतो : स्रोतका अनुसार सोधपुछका क्रममा पक्राउ परेका शाहीले विमानस्थलका उच्च अधिकारीहरूले नै सहयोग गरेको संकेत गरेका छन् । भन्सारको स्क्रिनिङमा सुनलगायत अवैध वस्तु कर्मचारीलाई थाहा हुन्छ । तर, ३३ किलो सुन एउटै सुटकेसमा लुकाउँदा पनि थाहा नपाउनुले यसमा मिलेमतो रहेको प्रहरी दाबी छ । स्रोतका अनुसार सुन रहेका ब्यागहरूबारे भन्सारका कर्मचारीलाई पहिले नै सूचना दिइएको हुन्छ, जसका कारण उनीहरूले ती ब्यागहरूमा चेकजाँच गर्दैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया