किराना पसल खोल्ने हो ? एकपटक सोच्नुहोस्

निम्न मध्यमस्तरको व्यवसाय गर्न चाहनेहरुको रोजाइमा पर्ने गर्छ; किराना पसल । तर यसबारे आवश्यक ज्ञानको अभावमा सुका–आना जोडेर थालेको व्यवसायमा घाटा बेहोर्नेहरुको पनि कमी छैन । यदि तपाईपनि किरान पसल थाप्ने सोचमा हुनुहुन्छ भने एकपटक यसका सम्भावना र चुनौतीहरुबारे बुझ्दा राम्रो हुन्छ ।

बजेटः
बजेट कुनैपनि व्यवसायको थालनीको लागि अपरिहार्य हुन्छ । किराना पसल खोल्नको लागि यति नै लाग्छ भन्ने हुदैन । सामान्यत ५/६ लाखको लागनीमा पनि किराना पसल खोल्न सकिन्छ । घरेलु तथा साना उद्योगमा पसलको दर्ता, डेकोरेसन, सुरुमा राख्नुपर्ने समानहरु, मासिक रुपमा तिर्नुपर्ने भाडा यि पसलको लागि हुने खर्चहरु हुन् । यि सबै कुरा तपाईमा भर पर्छ । डेकोरेसनमा कति खर्च गर्नुहुन्छ, समान कति प्रकारको राख्नुहुन्छ, कति परिमाणमा राख्नुहुन्छ भन्ने कुरालाई मध्यनजर गरेर बजेट छुट्याउनु पर्छ ।

ठाउँको छनौटः
सर्वप्रथम कुन ठाउँमा किराना पसल खोल्न लागिएको हो, त्यस ठाउँको बारेमा आफु जानकार हुनुपर्छ । जस्तो कति घर परिवार आफुले छनौट गरेको ठाउँमा बसोबास गरिरहेका छन् । कति घर परिवारले पसलबाट समान खपद गर्छन्, स्थानियहरुको संस्कृति, रहनसहन कस्तो छ भन्ने कुरा जान्नु आवश्यक छ । संस्कृतिले खानपानमा फरकपन ल्याउँछ, खानपानले व्यापारमा असर गर्छ । प्राय किराना पसलमा दैनिक उपभोग्य सामाग्रीहरु हुने हुनाले वरिपरिका मानिहरुमा सामग्राीहरु किन्ने चलन कतिको छ कति परिमाणमा सामानहरु स्थानियहरुले खपद गर्छन् त्यसको हिसाव राखेर ठाउँको छनौट गर्नुपर्छ ।

सामानको छनौटः
ठाउँको प्रकृति अनुसार समानको छनौट मिल्दो हुनुपर्छ । तपाईले छनौट गर्नुभएको ठाउँमा कस्तो प्रकारको धर्म, संस्कृति, रितिरिवाज भएका मानिसहरुको बाहुल्यता छ, उनिहरुले दैनिक रुपमा कस्तो प्रकारका सामानहरु बढी खपद गर्छन् ति कुराहरुलाई मध्यनजर गर्नुपर्छ ।

किराना पसल भन्नाले दैनिक रुपमा उपभोग्य वस्तुहरु सजिलै पाइने ठाउँ हो । समान्यतयाः किराना पसलमा दाल, चामल, नुन, तेल, बिस्कुट, चाउचाउ, पेय पदार्थहरु पाइन्छ । किराना पसलमा करिब २०० भन्दा बढी समाग्रीहरु हुन्छन् । एकै प्रकारका समाग्रीहरुको पनि धेरै भेराइटी हुने हुदाँ ग्राहकहरुको रोजाईलाई ध्यान दिनुपर्छ ।
कुनैसमयमा बजारमा सामानहरुको सर्टेज हुन सक्छ, यस बेला व्यापारीले बजारमा हुनसक्ने सर्टेजको पूर्वआंकलन गरि होलसेलबाट सामान खरिद गर्नुपर्छ यसबाट ग्राहकहरुलाई नजिक बनाउन सकिन्छ ।

कहाँबाट सामग्री खरिद गर्ने ?
किराना पसलको लागि सामग्रीहरु होलसेलबाट खरिद गरिन्छ । सामानको प्रकार अनुसार होलसेल पसलपनि फरक–फरक ठाउँमा हुन्छन् । कुन होलसेल कहाँ छ, अन्य होलसेलको तुलनामा मूल्य कति फरक छ, त्यसमा किराना पसलेले ध्यान दिनुपर्छ । त्यस्तै पसलको दुरी र होलसेलको दुरी टाढा बनाउनु हुदैन, टाढा दुरी भएको खण्डमा ढुवानी खर्च बढ्न जान्छ ।
आजभोलि कतिपय सामानहरु पसलमा नै डेलिभरी गरिदिने प्रचलनपनि बढदो छ । यसले किराना पसलेलाई सहज बनाइलिएको छ ।

कसरि चलाउने पसल ?
अहिलेको बजार निकै प्रतिस्पर्धी भएको कारणले गर्दा ग्राहकहरुको सन्तुष्टिलाई ध्यान दिनु आवश्यक छ । क्षमतावान् व्यापारिहरु यस क्षेत्रमा टिक्न सक्ने हुनाले आफ्नो क्षमता वृद्धि गर्न व्यापारिहरु लागिपर्नुपर्छ । ग्राहकहरुलाई सन्तुष्ट बनाउन सकिएन भने नियमित ग्राहकहरु अन्यत्र जान्छन् यसले लगानीमा जोखिम सृजना गर्छ ।

सामान्यतया किराना पसल बिहान ५ः३० देखि बेलुकी ९ सम्म खुल्ने हुनाले एक जनाले मात्रै सञ्चालन गर्न गाह्रो हुन्छ । त्यसकारण कम्तिमा २ जना बजार तथा ग्राहकहरुको रोजाई बुझ्ने व्यापारी पसलमा हुनु आवश्यक छ ।

कति पाइन्छ रिर्टन ?
किराना पसलमा थोरै सामान बेचेर बढी मार्जिन राख्ने भन्दापनि धेरै सामान बेचेर थोरै–थोरै मार्जिन राख्नुपर्छ । प्रायः किराना पसलेहरुले यसै गरिरहेका हुन्छ ।
किराना पसलको एउटा आइटमबाट लगभग ५ देखि ७ प्रतिशतको मुनाफा हुनेगर्छ । त्यसकारण बढी भन्दा बढी समामानहरु बेच्नतर्फ किराना पसले दाग्नुपर्छ ।

जोखिमः
किराना पसलमा पनि अन्य क्षेत्रहरुजस्तै जोखिम रहेको छ । धेरै लगानी गर्नुपर्ने यस क्षेत्रबाट थोरै प्रतिशतमात्र नाफा आउँछ । ग्राहकहरुको रोजाइ अनुसारको सामान पसलमा राख्न सकिएन भने ग्राहकहरु भड्कन्छन् । त्यसकारण पसलमा धेरै भेराइटीहरु उपलब्ध गराउनुपर्छ ।

यदि पसलमा सामानहरु समयमानै बिक्री भएन भने सामानको म्याद सकिने हुँदा घाटा आफैले व्यहोर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया