सहकारीले महिलालाई बनायो आत्मनिर्भर

पाल्पा, मंसिर २९ । घरायसी काममा मात्र सीमित रहने पाल्पाका ग्रामीण भेगका महिला हिजोआज विभिन्न व्यवसाय चलाएर आत्मनिर्भर बन्दै गएका छन् ।

सधैँ घरायसी कामले बाहिर निस्कन नपाउने महिला गाउँगाउँमा सहकारी खुलेसँगै आयआर्जनका निम्ति सक्रिय बन्न थालेका छन् । सहकारीले विभिन्न व्यवसायका लागि बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउन थालेपछि महिलाको परनिर्भरता अन्त्य हुँदै गएको छ ।

श्रीमानले अर्की श्रीमती बिहे गरेपछि जीवन गुजाराका लागि रामपुरकी गीतादेवी विक ऋण झिक्न अन्धकारमुक्ति बचत तथा ऋण सहकारीमा पुगिन् । सहकारीले उनलाई बिनाधितो रु एक लाख ५० हजार ऋण सहयोग दिएपछि विकले कस्मेटिक पसल सुरु गरिन् । आम्दानी बढ्दै गएपछि उहाँले कस्मेटिक पसलसँगै फेन्सी, सिलाइकटाइ पनि सुरु गरिन् ।

बेलाबेलामा सहकारीबाट सहुलियत दरमा ऋण झिक्दै व्यवसाय बढाउँदा यथेष्ट आम्दानी हुन थालेपछि उनले चार जनालाई रोजगार समेत दिएकी छिन् । ‘यही व्यवसायबाट छोरीलाई स्टाफ नर्सको पढाइ खर्च जुटाए,’ विकले भनिन्, ‘मेरो जीवनको बाँच्ने आधार नै सहकारी बनेको छ ।’ श्रीमानबाट सहारा नपाएकी विकले सहकारीबाटै ऋण लिएर घर निर्माण गरेकी छिन् ।

त्यस्तै रामपुर कठानका टकादेवी भट्टराईले पनि सहकारीबाटै ऋण लिएर तरकारी, कुखुरापालन व्यवसाय र कस्मेटिक पसल चलाउँदै आएकीछिन् । ‘पैसाका निम्ति सँधैं श्रीमानको भर पर्नुभन्दा आफैं उद्यमी बन्ने सोच राखेर व्यवसाय सञ्चालन गरेको छु,’ उनले भनिन् ।

सहकारीबाट ऋण झिकेर उनले तरकारीखेतीमा लगानी गरेकी छिन् । तरकारीखेतीबाट आम्दानी बढ्दै गएपछि कस्मेटिक पसल र कुखुरापालन थाल्नुभएको छ । उनले करिब आठ रोपनी जग्गामा तरकारी लगाएर एउटा याममा रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्दैआएकी छिन् ।

रामपुर बगरचोकका उर्मिला रानाले बिनाधितो अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले ऋण दिएपछि रु २० हजारको लागतमा होटल व्यवसाय सुरु गरिन् । सोही व्यवसायबाट अहिले उनले करिब रु ३० लाखमा घडेरी जोडेकी छिन् ।

व्यवसाय गर्न चाहने महिलाका लागि सहकारीले सहुलियत दरमा बिनाधितो ऋण उपलब्ध गराउन थालेपछि धेरैजसो महिलाले आत्मनिर्भर बन्ने अवसर प्राप्त गरेका छन् । एकल जीवन बिताउँदै आएकि भीमा आलेलाई सहकारीले बाँच्ने आधार बनाइदिएको छ । रु १५ हजार ऋण लिएर व्यवसाय चलाएकी उनले अहिले घडेरी जोड्न सफल भएकी छिन् ।

गरिब, एकल, असहाय, दलित, विपन्न वर्गका महिलाका निम्ति सहकारीले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराएपछि धेरै महिलाको सहकारीमा आकर्षण बढ्दो छ । अन्धकारमुक्ति बचत तथा ऋण सहकारीमा आबद्ध करिब दुई हजार महिलाले कृषि, पशुपालन, विभिन्न पसल, होटल व्यवसाय चलाएर आत्मनिर्भर बन्दै गएका छन् ।

सहकारीले व्यवसाय गर्न चाहने महिलालाई बिनाधितो १२ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउँदै आएको छ । संस्थाले रु एक लाख ५० हजारसम्म बिनाधितो र त्यो भन्दामाथि व्यवसाय गर्नेका लागि परियोजना हेरेर धितो राखेर रु नौ लाखसम्म ऋण उपलब्ध गराउँदै आएको सहकारीका व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले बताए । सहकारीमा आवद्ध आठ हजार २६७ सेयर सदस्यमध्ये कारोबारमा महिला अगाडि छन् ।

ग्रामीण बचत तथा ऋण सहकारी संस्था गाडाँकोटका व्यवस्थापक चिरन्जीवी सिग्देल पीडामा परेका र केही गरेर देखाउने महिलाका लागि सहकारी सहारा बनेका छन् । बिनाधितो ऋण प्रवाहबाट जिल्लामा महिला उद्यमी बढ्दै गएको जिल्ला डिभिजन सहकारी कार्यालयका प्रमुख कृष्णबहादुर बोहोराले बताए । जिल्लामा हाल दर्ता भएका २७१ सहकारीमध्ये महिला सहकारी ४६ वटा रहेका उनले जानकारी दिए । रासस

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया