के २/४ जना महिलाको उदाहरण दिएर सिंगो महिलाको अवस्था प्रतिबिम्बित होला त ?

पुजा तिमिल्सिना,

विगतको तुलनामा पछिल्लो समयमा राज्यका निकायसँगै हरेक क्षेत्रमा महिलाको सहभागिता बढेको देख्न सकिन्छ । यद्यपी महिला सहभागिता अहिले पनि आरक्षण र सहभागिताको लागि सहभागिता मात्रै सीमित छ भन्दा अत्तियुक्ति नहोला ।

आफ्नो क्षेत्रमा विशेष उपलब्धि हासिल गरेका सीमित महिलाहरुको उदाहरण प्रस्तुत गरेर समग्र महिलाहरुको उन्नति दर्शाउने गरेको देख्न सकिन्छ । तर यदि यस विषयलाइ गहन रुपबाट अध्ययन गर्ने हो भने हालपनि अद्भुत क्षमता भएका केयौं महिलाहरु नर्करुपी जिउन बाध्य भैरहेका छन् ।

राज्यका महत्वपूर्ण पद कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाको प्रमुख पदमा महिला पुगेको भएपनि अन्य महिलाहरुले अझैपनि वास्तविक पुरुष सरह समान अधिकार पाउने मात्रै नभई हिंसाको शिकार हुँदै आएका छन् ।
के दुइचार जना महिलाहरुको उदाहरण दिएर सिंगो महिलाहरुको अवस्था प्रतिबिम्वित होला त ? यो प्रश्न चिन्ह खडा हुन आउँछ । कागजी रुपमा मात्रै गरिएका घोषणाले शोषित पीडित महिलाको दैनिकी र उनीहरुको अवस्थामा फेरबदल हुन सक्छ ?

महिलाको वास्तविक जीवनमा परिर्वन ल्याउन सबैभन्दा पहिले महिलाहरुको जीवनमा, उनीहरुको क्षमतामा, उनीहरुको सोचमा र उनीहरुको वास्तविक जीवनमा फरकपन आउन आवश्यक छ । महिलामा दक्षता अभिवृद्धि गर्नमा केवल महिलाको प्रयासले मात्रै सफल हुँदैन यसका लागि पुरुषहरुको पनि त्यत्तिकै साथ र सहयोगको आवश्यक छ । अहिले पनि दिनानुदिन महिलामाथि हिंसा विभेदहरु बढ्दै गएका छन् । महिलाहरुलाई हिंसाबाट बचाउन स्वयं महिलालाई जागरुक त बनाउन पर्छ नै समग्रमा चेतनाको विकास पनि गर्नुपर्दछ । महिलालाई आर्थिक रुपमा सबल र सक्षम बनाउनुपनि त्यत्तिकै आवश्यक छ ।

विगतका तुलनामा महिलालाई केही अधिकार र स्वतन्त्रता दिएपनि अहिले पनि उसको बाल्यकाल देखिनै घरयासी कामकाजमा व्यस्त गराउने गरेको दखिन्छ, जसका कारण पुरुषको सरह महिलाको विकास हुन सक्दैन् । जस्तो छोरा र छोरी रहेको घरमा छोरीलाई खेलौनाको रुपमा गुडिया दिइन्छ भने छोरालाई बन्दुक अथवा बस गाडीहरु दिईने गरिन्छ । यसबाट नै हामीले बुझ्न सक्छौं अहिले पनि महिला माथि विभेद रोकिएको छैन, स्वरुपमा मात्रै परिवर्तन भएको छ ।
यसर्थ महिलालाई आर्थिक रुपमा सबल र सक्षम बनाउन साथै राज्यको मूलधारमा ल्याउनका लागि महिला शसक्तिकरणको खाँचो छ । जबसम्म महिला आर्थिक रुपले सक्षम हुँदैन् जबसम्म महिला विकास र सहभागिताका कुरा कागज र नारामा मात्रै सीमित हुन्छ ।

किन चाहिन्छ महिला शसक्तिकरण ?

womesn-nepal
womens-in-nepal

माथिको आँकडा हेर्दा नेपालमा महिला र पुरुषको वास्तविक अवस्था चित्रण गर्न सकिन्छ । महिलाहरूको आर्थिक, सामाजिक, विकास र सशक्तीकरणका लागि संविधानमा नै महिलाको हकको व्यवस्था गरिरएको छ । यद्यपी सो कुरा व्यवहारमा कार्यान्वयन भएको देखिंदैन् ।

राज्यका सबै निकायमा महिलाको समानूपातिक समावेशी सिद्धान्तको आधारमा सहभागिता रहने, महिलाले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने, सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हूने, सङ्घीय संसद् र प्रदेश सभामा निर्वाचित हूने कूल सदस्यको कम्तीमा एकतिहाइ महिला सदस्य हूने, प्रतिनिधि सभाको सभामूख र उपसभामूखमध्ये एकजना र राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हूने, प्रदेश सभामूख वा प्रदेश उपसभामूखमध्ये एकजना महिला हूने लगायतका धेरै महिला सहभागिताको व्यवस्था संविधान भएपनि जबसम्म महिलाको क्षमतामा वृद्धि हुँदैन महिलाको गुणात्मक वृद्धि हुन सक्दैन् ।

यसर्थ महिलाको सर्वाङ्गिण विकास को लागि महिला शसक्तिकरणको आवश्यकता छ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया