आफै मरे पनि बातलाग्ने ! ज्यानमाराले छुट पाउने ?


“नौ जना अपराधी छुटे पनि छुटुन तर एकजना पनि निर्दोष व्यक्तिले सजाय नपाओस्” भन्ने फौजदारी न्यायको सर्वव्यापी सिद्धान्त हो । हुनपनि कुनै निर्दोष व्यक्तिले अनाहकमा सजाय भोग्नु पर्दा त्यो निर्दोष व्यक्तिको आत्माले समग्र न्याय व्यवस्थाप्रति कति धिकार्छ होला ? उसको घर परिवार र आफन्त नातेदारजनमा न्याय व्यवस्था प्रति कस्तो धारणा बन्छ होला ? निर्दोष बाबु अनाहकमा २० बर्ष जेल सजाय भोग्नु पर्दा त्यो परिवार नै विघटन भएको तथ्य समाजमा यदाकदा देखिएकै हुन्छ । विना अपराधको बाबु कारागार चलान हुन्छ, २ बर्ष पछि आमाले दोस्रो विवाह गरेर जान्छीन् । बाबुको कमाइले राम्रो स्तरको स्कूलमा पढ्दै गरेका छोरा छोरीहरु एकैपटक गिट्टी कुटेर गुजारा चलाउन वाध्य हुन्छन् । यसको लागि को जिम्मेवार हुने हो ? अब सबैले एकपटक जिम्मेवारी महशुस नगरे इतिहाँसले यो समयका हामी सबैलाई धिकार्ने निश्चित छ ।

कसैले कुनै अपराध गर्छ भने अपराध वापतमा कानून बमोजिम उसले सजाय भोग्नु पर्छ । कानुनी राज्यको मुल अवधारणा पनि त्यही हो । यस कुरामा कसैको विमती पनि हुदैन । तर कुनै पनि अपराधको अपराधी को हो ? पत्ता लगाउने प्रथम बाटो प्रहरी अनुसन्धान नै हो । तर कतिपय अवस्थामा प्रहरीले अनुसन्धान नगरी, सरकारी वकिलले अभियोजन नगरी, अदालतले अपराधी घोषित नगरी शंका, रिष राग, बदलाको भावना एवं आग्रह पूर्वाग्रह आदिका कारणले संचार माध्मयहरु, जनसमुदाय, राजनैतिक पार्टी र यसका भातृ संगठन तथा गैर सरकारी संघ संस्थाहरुले अमुक व्यक्तिलाई अपराधी घोषित
गर्दछन् ।

जब समुदायले अपराधी घोषित गर्छ अनि अनुसन्धान ठप्प हुन्छ । फलानालाई फाँसी दे (कानूनमा नभए पनि) को नारा घन्कन थालेपछि त्यो फलानो बलिको बोको भयो । वर्तमान अवस्थामा अपराधको प्रकृति गंभिर हुन थालेको छ, अनि अपराधीको दिमाग खुराफाती ।

यो व्यक्तिलाई यो प्रकारले यसो गरेमा समाजको ध्यान फलाना पट्टी जान्छ र म यसरी बच्छु सजायबाट भन्ने जालो बुनेमा समाज त्यही जालोमा फस्छ र निर्दोषले सजाय पाउने र अपराधी छुट्छ । उता कोही व्यक्ति आफै मरे पनि कसैको हौवा वा षडयन्त्रमा समुह दौडन्छ र निर्दोष व्यक्तिलाई कारागारको बास बनाउछन् ।

अनि कानून ? हाम्रो देशको कानून चाही कस्तो छ त ? सिमसिमे राजाको पालामा लावण्य देशको कानून भने झै जंगवहादुरको पालामा वि.सं. १९१० मा आएको मुलुकी ऐनलाई सामान्य संशोधन गरेर २०२० सालमा लागू भएको मुलुकी ऐनमा रहेका पुराना व्यवस्था विना औचीत्य रही रहेको छ । जसले अपराधी हो, कि होइन ? भनी छुट्याउन मद्दत गर्नुपर्नेमा जनमानसमा भ्रम र अन्धविश्वास मात्र पैदा गर्न मद्दत गर्छ । मुलुकी ऐन, ज्यान सम्बन्धी महलको घ नं. लाई विश्लेषण गर्ने हो भने यस्तो पाइन्छ ।

  • ओठ फुस्रो र आँखाको नानी ठूलो छ–छैन ? (त्यो लक्षण सबै मृत्युमा पाइन्छ, यसमा राख्नुको के अर्थ ?
  • आँखा बाहिर निस्केको छ–छैन ? (मार्दा निस्कने, आफै मर्दा ननिस्कने हुदैन, यसमा यसको के औचित्य छ ?
  • जिब्रो बाहिर निस्कीएको वा ओठले च्यापेको छ–छैन ? (यो स्वभाविक अस्वभाविक दुवै मृत्युमा हुनसक्छ तर सबैमा अनिवार्य पनि हुदैन । अनि यसबाट के प्रमाणित गर्न सकिन्छ र )?
  • इन्द्रीयहरुबाट कुनै लस्सा वा तरल पदार्थ निस्कीएको छ–छैन ? (मृत्यु भएपछि केहि समयको अन्तरालमा आफै मरे पनि मारे पनि निस्कन्छ । यो निस्कीएको वा ननिस्कीएको कारणले मारेको वा आफै मरेको तथ्य स्थापित हुने होइन)
  • घाटीको डोरीको डाम– (यो सबैमा डोरीको डाम हुदैन । डोरीको डाम हुनु नहुनुले मारेको, मरेको तथ्य हुदैन । डोरीको डाम हुनु नहुनुले मारेको, मरेको तथ्य छुट्टीदैन । नरम कपडाको पासो भएमा र तुरुन्त पासो हटाएमा छुट्याउन सकिन्न ।
  • मल बाहिर आउने कुरा मृतकले कति घण्टा अगाडि खाना खाएको वा पचेको, नपचेको सँग सरोकार राख्दछ, मरेको मारेको सँग कुनै सरोकार हुदैन । झुण्डीनु नझुण्डीनु सँग पनि प्राचन प्रणालीको सरोकार हुदैन ।
  • हातले समाएको, छोएको वा हातखुट्टाले भुई छोएको वा नछोएको कारणले हत्या भएको र नछोएमा मात्र आत्महत्या भन्ने धारणा केन्द्रीय स्नायु प्रणालीको सिद्धान्त विपरित रहेको छ । घाटीको सास नलिमा एकपटकरएक झड्कामा सेकेण्ड भर बन्द हुनासाथ दिमागमा रहेको नशा प्रणाली रोकिनु पुग्छ र तुरुन्त मान्छे बेहोस हुन्छ । हातले कुनै वस्तु छोए पनि समाउन दिमागले निर्देशन दिदैन, भुइमा वा कुनै चिजमा खुटा टेक्न दिमागको निर्देशन हुँदैन । जब कमिलारमच्छडले टोक्दा समेत दिमागले नअह्राई हटाउन सक्दैन भने हातखुट्टाको प्रयोग हुन सक्दैन । बेहोस हुनासाथ मान्छे मर्छ अनि खुट्टा टेके पनि घुडा टेके पनि व्यक्ति मर्न सक्छ । यो भ्रमको कारण पनि आफै मरेका व्यक्तिहरुलाई समेत फलानाले र्मायो भनी झुठ्ठा आरोप लगाउने चलन रहेको छ । के के गरी मार्न सक्छन् ? र के के गरी मर्न सक्छन ? भन्ने कुरा पनि सार्वजनिक गर्दा दुरुपयोग हुने आशंका यस लेखकले महशुस गरेको हुँदा त्यस तर्फ अब विवेचना नगरौं ।
  • त्यसैगरी अब कर्तव्य गरी मान्छे मारेको सन्र्दभमा विवेचना गर्दा– ज्यान सम्बन्धी महलको ९ नं. मा कुटेको चोटले २१ दिन भित्र मरेमा ज्यानमारा ठहर्छ भनी लेखिएको छ । २२ औं दिनमा र्मयो भने वात नलाग्ने ? यो किन ? उपचार गर्दागर्दै घाइते त्यही कुटपीट कै पिडाले महिना दिनमा मर्न सक्दैन ? २१ दिनको समय सीमाको औचित्य किन ? खुल्न सक्दैन । त्यही चोटको पीरले मर्यो भने जति दिनमा मरे पनि ज्यानमाराको वात लाग्नु पर्छ ।

आन्दोलनहरुमा घाइते भएको मान्छे बर्ष दिन पछि त्यही चोटको कारणले मरेको भनी सहीद घोषित हुन्छ भने ज्यानमारालाई किन वात नलाग्नु ? त्यस्तै सोही ९ नं. मा बिष खुवाए ७ दिन भित्र मरेमा ज्यानमारा ठहर्ने समय सिमा किन ?

बिषको उपचार गर्दागर्दै कोही १५/१६ दिन, कोही २२/२५ दिनमा र कोही कोही महिना दिन पछि पनि मरेको छन् । दीर्घकालिन असर हुने बिष पनि रहेको हुन्छ । त्यसकारण कति दिनमा र्मयो भन्ने सरोकारको बिषय होइन, सरोकार त आरोपीले बिष खुवाएको हो कि होइन ? र बिषको कारणले मृतकको मृत्यु भएको हो या होइन ? भन्ने नै रहनु पर्दछ । कानूनका यस्ता छिद्राले अपराधीले उन्मुक्ति पाउने आधार बनाइनु हुदैन ।

समग्रमा भन्नु पर्दा निर्दोषले सजाय नपाओस, दोषी नछुटोस । यसका लागि सही वास्तविक प्रहरी अनुसन्धान हुनु पर्दछ । सरकारी वकिलले सही र वास्तविक अभियोजन गर्नु पर्दछ । कानून निर्माताले वैज्ञानिक तथ्यमा आधारित कानून निर्माण, परिमार्जन गर्नु पर्दछ । र अदालत समेत सबै निकायले भीड एंव नारा जुलुस, पत्रिकाका समाचार होइन तथ्य र कानुन हेरेर आदेश फैसला गरिएमा जनतामा वास्तविक न्याय पर्न जानेछ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया