रेभ पार्टीबाट सुरु भएको आगोलागी गोदामसम्म, ४० जनाको मृत्यु आशंका

क्यालिफोर्निया, मंसिर २० । अमेरिकी राज्य क्यालिफोर्नियाको एक गोदामघरमा शुक्रबार भएको आगलागीबाट कम्तिमा ४० जनाको मृत्यु भएको हुनसक्ने भन्दै अग्नी नियन्त्रक अधिकारीले मृतकका शरीर जम्मा गरिरहेका बताएका छन् । उक्त गोदामघरको एक तलामा रहेको ‘रेभ पार्टी’ (सङ्गीत तथा अन्य मोजमस्तीसहितको सेवा) प्रदान गर्ने रेस्टुरेन्टबाट आगलागी सुरु भएको बताइएको छ ।

यद्यपि अहिलेसम्म प्राप्त सूचनाअनुसार ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । सान फ्रान्सिस्को नजिकैको सहर ओकल्यान्डमा शुक्रबार राति भएको उक्त घटनापछि सम्पर्कमा आउन नसकेका मानिसका आफन्तजनले लामो पर्खाइपछि पनि आफ्ना प्रियजनलाई भेट्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

उक्त भवनमा आगलागी नियन्त्रणका लागि कुनै सुविधा नभएकाले ठूलो क्षति हुन पुगेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट थाहा भएको अग्नी नियन्त्रकले जनाएका छन् । भवनभित्र आगलागी भएपछि भवनको छानाबाट सुन्तला रङ्गको ज्वाला निस्केको प्रत्यक्षदर्शीले बताएका छन् । भवनभित्र भएका मानिसको एकीन सङ्ख्या भने अझै थाहा हुन नसकेको एलनिडा काउन्टी सेरिफका विभागीय प्रमुख सर्जेन्ट रे केलीले बताए । रासस/एएफपी

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया