‘मापदण्ड अनुसार नै हामीले सिमेन्ट उत्पादन गरिरहेकोले सरकारले तयारी सिमेन्टको आयातमा रोक लगाउनै पर्छ’


रोशन पाठक, बरिष्ठ बिक्रि प्रबन्धक, जगदम्बा सिमेन्ट ।

जगदम्बा सिमेन्टले नेपालमा कहिले उत्पादन शुरु गर्यो र यसमा यहाँ संलग्न हुनुभएको कति बर्ष भयो ?

जगदम्बा सिमेन्टले नेपालमा सिमेन्ट उत्पादन गरेको करिब १३ बर्ष भयो । यसमा म ८ बर्षदेखि निरन्तर रुपमा संलग्न छु ।

यहाँले काम गर्नुभएको समयदेखि नेपाली सिमेन्ट उद्योग क्षेत्रमा ठुलो परिवर्तन भएको छ । यहाँ संलग्न उद्योगमा के परिवर्तन पाउनु भयो ?
सम्पुर्ण सिमेन्ट उद्योगको नै राम्रो ग्रोथ भईराखेको अवस्था छ । हरेक दिन सिमेन्टको माग बढ्नुका साथै खपत पनि बढिराखेको छ । मैले सिमेन्ट उद्योगमा संलग्न हुँदा नेपालमा त्यतिखेर बार्षिक ४ सय देखि ५ सय करोड बोराको बार्षिक खपत थियो भने अहिले १२ सय करोडसम्म भएको छ ।
खपत दिनहुँ बढि राखेको छ । गत बर्षको भुकम्प पश्चात झन् त्यसको माग अझ बढ्दै गएको अवस्था रहेको छ ।

जगदम्बा सिमेन्टको बजार भने कस्तो छ ? अथवा यसको नेपाली सिमेन्ट बजारमा कत्तिको पकड रहेको छ ?
सरकारको तथ्यांक हेर्दा अहिले नेपालमा १२ करोड बोरा बार्षिक खपत छ । त्यसको १० प्रतिशत बजार हिस्सा हाम्रो उत्पादनले लिएको छ । यो हिस्सा बढ्दै गइरहेको छ ।

नेपाली सिमेन्ट उत्पादनमा जगदम्बाको क्षमता कस्तो रहेको छ ?
हाम्रो २ वटा उद्योगहरु रहेका छन् । भैरहवामा जगदम्बा सिमेन्ट प्रालि र पर्सामा छाता पिपरामा सुभश्री जगदम्बा सिमेन्ट मिल्स रहेको छ । यी दुवै उद्योगबाट हामीले दैनिक रुपमा २४ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्छौं ।
हुनतः उत्पादनमा सन्तोष मानेर बस्न मिल्दैन । यसको अवसर पनि छ र चुनौती पनि । दैनिक खपत हेर्ने हो भने राम्रो ग्रोथ गरेको अवस्था छ भन्न सकिन्छ ।

नेपालमा सिमेन्टको ग्रेडिङ कसरी गरिन्छ ?
नेपाल सरकारले एउटा मापदण्ड बनाएको छ । सिमेन्टमा ओपिसि, पीपीसी र पीयससी गरि तीन बर्गिकरण हुन्छ । त्यसमा यति स्तरको हुनुपर्छ भनेर मापदण्ड तोकिको हुन्छ । त्यो आधार अनुसार नै सम्पूर्ण नेपाली सिमेन्ट उद्योगहरुले आफ्नो उत्पादन गरेका हुन्छन् ।

सिमेन्टको जुन बर्गिकराणको कुरा गर्नुभयो, त्यसको प्रयोग बारे अझै उपभोक्ता सुसिुचित भएको देखिदैन, स्पष्ट पारिदिनुहोस न ।
यदि कसैले कुनैपनि संरचनाको निर्माण गर्दै छ, यस बारेमा आफैले जान्नुपर्छ कुन सिमेन्ट कहाँ उपयोग गर्ने भनेर । हाम्रो चलनचल्तिमा ओपिसि सिमेन्ट भनेको ढलान, पिलर र मुख्य संरचना बनाउन हो भनेर दिमागमा बसेको छ । बाँकी दुई सिमेन्ट भनेको जोडाइ र प्लास्टर गर्नका निम्ति उपयोग भइरहेको छ । तर जुनै सिमेन्टले ढलान पनि गर्न सक्छौ । भन्न खोजेको तीन वटै सिमेन्टले हामी एउटै काम पनि गर्न सक्छौ । तर यदि कसैलाई तुरुन्त ढलान गरेर फर्माहरु निकाल्नु छ, फास्ट सेटिङ गर्नु छ भने त्यसमा ओपिसी प्रयोग गर्नु राम्रो हुन्छ । तर यदि कसैलाई ढिलो फर्मा निकाल्नु छ भने ओपिसीको सट्टा पीपीसी/पीयससी प्रयोग गर्न सकिन्छ । पीपीसी/पीयससी गर्दाले ढलान कमजोर हुन्छ भन्ने हैन । तरिकामा मात्रै फरक हो ।

मुल्यको कुरा गर्ने हो भने पीपीसी/पीयससी सिमेन्टभन्दा ओपिसी सिमेन्ट अलिकति महँगो नै छ । ओपिसीमा क्लिङकरको मात्रा धेरै हुन्छ । तर अर्को २ वटा सिमेन्टमा क्लिङकरको मात्रा कम रहेको हुन्छ । हाम्रो उत्पादनआधारमा हेर्ने हो भने ५० देखि ५२ प्रतिशतसम्म ओपिसी , ४८ देखि ५० प्रतिशतसम्म पीपीसी र पीयससी उत्पादन गरिरहेका छौं ।

सिमेन्ट बनाउनको निम्ति कच्चा पदार्थहरु नेपालमा उपलब्ध छ कि हामी यसलाई भारतबाट निकासा गरेर ल्याउनु पर्छ ?
नेपालमा क्लिङकरको उत्पादन भइराखेको छ । तर यसले मात्र समग्र सिमेन्ट उद्योग क्षेत्रको परिपूर्ति गर्न नसकेको हुनाले गर्दा कतिपय कच्चा पदार्थहरु हामीले भारतबाट पनि निकासा गर्नुपरेको अवस्था छ । त्यसैले सम्पूर्ण कच्चा पदार्थहरु यहाँ उपलब्ध छैन ।

ठुला–ठुला जलविद्युत् परियोजनामा नेपाली सिमेन्ट प्रयोग गरिदैन भनिन्छ । मुल्य वा गुणस्तर कुन कारण हो ?
विदेशी ठुला परियोजनामा विदेशी सिमेन्टको किन उपयोग गरिन्छ भन्ने चासोको बिषय पनि बनेको छ । यो नीतिगत समस्याको कारण हो जस्तो लाग्छ । कुनैपनि बिदेशी परियोजना नेपालमा संचालन हुन्छ भने सम्बन्धित राष्ट्र र नेपाल सरकारबीच एउटा सम्झौता हुन्छ । करार नामा नै सम्बिन्धत देशले आफ्नो देशको उत्पादन प्रयोग गर्ने भनेर शर्त राखेको हुन्छ । यसले गर्दा नेपाली उद्योगहरुलाई समस्या गर्छ । त्यसैले गर्दा नेपाली सिमेन्टहरु त्यस्ता परियोजनामा प्रवेश गर्न नपाएको अवस्था छ । त्यसैले यो कुरा नेपाली जनताहरु माझ प्रष्ट गर्न पनि जरुरी रहेको छ । सरकारले सिमेन्ट उद्योगहरुलाई मापदण्ड दिएको हुन्छ र सोहि मापदण्ड अनुरुप नेपाली सिमेन्ट उद्योगहरुले उत्पादन गरेपछि नेपाल सरकारले यो उत्पादन राम्रो छ भनेर किन्न भन्न चाहदैन । तर अन्य देशहरुको उत्पादन सजिलैसँग भित्रन दिई राखेको छ । त्यसैले यहाँ सरकारको गम्भीर लापरवाही देखिएको छ । यसमा हामी लगायत सम्पूर्ण सिमेन्ट उद्योगहरुले सरकारको ध्यानआकर्षण गराईराखेका छौं । अब यसको सम्बोधन होस् भन्ने हाम्रो आग्रह रहेको छ र यसलाई सम्बोधन गर्न पनि पर्छ । हामीले मापदण्डमा आधारित भएर सिमेन्ट उत्पादन गरेको हुनाले सरकारलाई हाम्रो त्यो माग पनि हो ।

सरकारकै कुरा गर्दा, हामीले कुन कुन नीति नियमहरु परिवर्तन गर्नुपर्ने देखिन्छ ?
नीति नियम परिवर्तनभन्दा पनि नेपाली सिमेन्ट उद्योगको आवश्यकता पुरा गर्न आवश्यक छ । उद्योगहरुमा विद्युत अभावले निकै समस्या रहेको छ । उत्पादनमा समस्या देखिने गरेको छ । प्लान्टहरु २४ घण्टै चलाउनु पर्ने हुन्छ तर यहाँ कस्तो बिडम्बना छ भने हरेक एक/एक घण्टा बत्ति गईदिन्छ । त्यसले गर्दा हरेक घण्टामा १५ देखि २० मिनेट समय खेर जान्छ । यो मात्रै हैन सिमेन्ट उत्पादनलाई समेत समस्या पारिदिन्छ । यसले उत्पादन लागत पनि बढाई दिन्छ र आम सर्वसाधारणलाई पनि महंगो पर्न जान्छ । दोस्रो समस्या भनेको दक्ष जनशक्तिको अभाव हो । माथिल्लो तहको कर्मचारी अहिले पनि छिमेकी मुलुक भारतबाट नै बोलाउनु परेको छ । नेपालमा जो शिक्षित छन् उनीहरु देशको राजनैतिक अस्थिरताको कारण विदेश पलायन भैइराखेका छन् ।

अब अन्त्यमा, आगामी ५ बर्षपछि जगदम्बा सिमेन्ट कहाँ पुग्ला, के देख्नुहुन्छ ?
अहिले हाम्रो बजार हिस्सा १० प्रतिशत रहेको छ । आगामी दिनमा हामी अझ सशक्त ढंगले ग्रोथ गर्दै जाने छौं ।

बिस्तारमा : 

https://www.youtube.com/watch?v=FSNCduny3nc

 

फेसबुकबाट तपाईको प्रतिक्रिया