म्युचुअल फण्डलाई लगानीकर्ताको प्रश्न : हामी लाख गुमाएर जाऔंला तपाईहरुले पनि करोडौं गुमाउनु पर्ला नि ?

दिलिपकुमार मुनंकर्मी,
आमलगानीकर्ता । 

नेपालको शेयरबजारको विकास तथा विस्तारमा यहाँहरुको अहम् भुमिका रहेको कुरा सर्वविदितै छ । यहाँहरुकै लगानी र कारोवारले बजार चलायमान हुने र बजारको स्तर विकासमा सहयोगी बन्दै आएको छ । हुनतः म्युचुअल फण्डको व्यवहारिक उपस्थिति सिद्धार्थ ग्रोथ इन्भेष्टमेन्ट फण्डपछि भएको हो । त्यसभन्दा अगाडि ठूलो कोषको व्यवस्थापन गर्न सक्ने केही ठूला व्यक्तिगत लगानीकर्ताहरुले बजारमा शेयरको माग र आपूर्ति व्यवस्थापनमा सहयोग पुर्याइरहेका थिए ।

तर वर्तमान परिपेक्षमा ग्रामीण जनताको समेत पुँजी बजारमा सहभागिता हुन थालेपछि बजारले थप उचाइ पाउन थालेकोमा अब दुईमत रहेन । बजारमा संस्थागत , ठूला लगानीकर्ता र साना लगानीकर्ता कति कति छन् त्यसको ठ्याक्कै तथ्यांक छैन् । तर विगतको अनुपातमा परिवर्तन भएर अहिले सम्भवत संख्याको आधारमा बराबर अनुपात कायम भएको पो छ की ? भन्ने अनुमान गर्न सकिन्छ । यसको प्रभाव हालैको बजारले स्पष्ट देखाउँछ । बजारमा विगतको जस्तो माग वा आपूर्ति कुनै एक पक्ष हावी हुने अवस्थाको अन्त्य भएर माग र आपूर्तिमा सन्तुलन आएको हो की भन्ने अवस्था पनि देखिएको छ । बजारको लागि यो सुखद खबर पनि हो ।

यति हुँदाहुँदै पनि हालको अवस्थामा देखिएको बजारको उतारचढावले यसको सहजतामा भने केही प्रश्न उठेको छ । विशेषगरी २०७३ मंसिर २ र ३ गतेको बजार उतारचढावमा जुन परिदृष्य देखियो त्यसले विशेषतः म्युचुअल फण्ड र ठूला लगानीकर्ताहरु प्रति बजारका आम लगानीकर्ताहरुको आशंका जन्माएको छ । यसको मूलकारण सामान्य रुपमा घटिरहेको बजारमा एकैपटक ठूलो विन्दु्मा बजार तलमाथि हुनु र त्यसमा पनि सिमित दलाल मार्फत ठूलो संख्यामा शेयरको विक्रि हुँदा बजार प्रतिको आशंकामा मलजल पुगेको हो ।

मंसिर २ र ३ गतेको उतारचढावले निम्त्याएको छालले धेरै साना लगानीकर्ताहरुले सम्हालिनै नसकिने अवस्था आयो । परिणामस्वरुप त्यसपछिको कारोवार दिनहरुमा बजार यति अस्थिर र अस्वभाविक देखियो कि एकैदिनमा १ सय विन्दुसम्मको बजार उतारचढाव देखियो । कुनै दिन ३–४ प्रतिशतले घटेको बजार क्षणमा नै १ प्रतिशतभन्दा बढी विन्दुले बढेको पनि देखियो । कतिपयको भनाइमा बजारको यस्तो उतारचढाव सामान्य हो र यसले खरिदको अवसरको सिर्जना गरेको हुन्छ । तर यहाँ खट्किएको कुरा नै हाम्रो जस्तो सानो बजारमा यस्तो ठूलो छालहरुको सिर्जना हुनु कतिको स्वभाविक र स्वीकार्य हो ? अनि यस्तो अवस्थामा म्युचुअल फण्डहरुको भूमिका के हुने भन्ने रह्यो ।

अझ कतिसम्म भने प्रारम्भिक उतारचढाव वा बजारमा अस्थिरता सिर्जनाको शुरुवात नै कुनै म्युचुअल फण्डको कारण भएको आशंकाले उनीहरुको भुमिकालाई लिएर अनेक टिकाटिप्पणी भए । अर्कोतिर बजारको अस्वभाविक र असामान्य उतारचढाव नियन्त्रणमा म्युचुअल फण्डहरु मुकदर्शक भएर ताली पिटेर बसेको देखिँदा बजार प्रति उनीहरुको भुमिकामा प्रश्न खडा गरेको छ । हो, साना लगानीकर्ताहरुले आफ्नो बलबुताले भ्याएसम्म बजारमा खरिद गरेर होस वा समस्या पर्दासमेत विक्री नगरेर बजारलाई स्थिर बनाउन भूमिका निभाए । आम लगानीकर्ताहरुको बुझाइमा म्युचुअल फण्डहरुले अलिकति मात्रै पनि सहयोगी भूमिका निभाएको भए बजार यति धेरै उतारचढावपूर्ण र अस्थिर हुने थिएन ।

बजारको चलायमानका लागि साना, ठूला वा संस्थागत सबै लगानीकर्ताहरुको उत्तिकै भूमिका र दायित्व हुने भएता पनि बजारको विकास र विस्तारमा म्युचुअल फण्डको सकारात्मक भूमिका र दायित्वलाई ध्यानदिएर सरकारले समेत उनीहरुलाई विशेष सुविधाहरुको व्यवस्था गरेको हो । कुनैपनि कम्पनीको सार्वजनिक निष्कासनमा निश्चित प्रतिशत आरक्षणको साथै पुँजिगत लाभकरमा समेत छुट दिएर बजारमा म्युचुअल फण्डको उपस्थितिलाई सहज बनाइएको छ । यस्तो सुविधा सानासाना पुँजी जम्मा गरेर बजारमा परिचालन गर्न मात्र होइन, बजारमा संस्थागत लगानीकर्ताको उपस्थितिलाई बलियो बनाएर मार्केट मेकरको केही भूमिका निर्वाह गरोस् भन्ने मनशाय समेत रहेको छ ।

बजारमा केही अन्य संस्थागत लगानीकर्ता पनि छन् तर उनीहरुलाई म्युचुअल फण्डहरुलाई जस्तो आरक्षण र करछुटको सुविधा दिइएको छैन, त्यसकारण पनि सरकार र आमलगानीकर्ताले बजारमा म्युचुअल फण्डहरुको सकारात्मक भूमिकाको अपेक्षा गर्न स्वभाविक रहन्छ ।

यदि बजार विस्तार र विकासको साथै त्यसलाई स्वाभाविक गतिमा चल्न विद्यमान र पाइपलाइनमा रहेका म्युचुअल फण्डहरुले सकाकारात्मक भूमिका नखेल्ने हो भने यो दुईहप्तामा सामाजिक सञ्जाल वा आमसञ्चारमा सिमित भएको लगानीकर्ताहरुको टिकाटिप्पणीले उनीहरुलाई अप्ठेरो नपार्ला भन्न सकिन्न । यसको साथै म्युचुअल फण्डहरुलाई कानुनी रुपमा प्राप्त सुविधाहरु माथि प्रश्न उठाउँदै त्यसका विरुद्ध आमआवाज बन्ने सम्भावना बलियो देखिएको छ ।
हुनतः बजारको उतारचढावले आमलगानीकर्ताहरुसँगै म्युचुअल फण्डहरुलाई पनि प्रभावित पारेको हुन्छ तर व्यक्तिगत लगानीकर्ताको तुलनामा उनीहरुको समानुकुलन क्षमता बढी रहेकोले त्यति नआत्तिएको जस्तो लागेको हो । पक्कै पनि साना लगानीकर्ताहरुले १ रुपैया गुमाउँदा ठूला र म्युचुअल फण्डहरुले त्यसको कैयौं गुणा बढी गुमाउने छन् । अनि यदि सबै साना लगानीकर्ता बजारबाट पलायन भएमा बजारको अवस्था के होला त्यो कल्पना पनि गर्न सकिदैन ।

अन्तमा, बजारलाई ‘क्र्यास’ हुनबाट यो पटक साना र आमलगानीकर्ताले जोगाएका हुन र यसले म्युचुअल फण्डहरुको समेत ठूलो नोक्सानी हुनबाट जोगिएको छ । आगामी दिनमा बजारको स्थिरता प्रदान गर्न म्युचुअल फण्डहरुले नेतृत्व लिन नसक्ने हो भने साना र आमलगानीकर्ताहरुले मात्र बजारलाई चलायमान बनाइराख्न सम्भव हुँदैन । म्युचुअल फण्डहरुले बजारमा नेतृत्व लिन नसक्ने हो भने वा कम्तिमा नकारात्मक असर पु¥याउने गतिविधि नरोक्ने हो भने बजारबाट साना लगानीकर्ताहरुको पलायन सुनिश्चित छ । हामी लाख गुमाएर जाऔंला तर म्युचुअल फण्डहरुले करोडौं गुमाउनु पर्नेछ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया