सामुहिक लगानी कोष माथी किन शंका ? किन भयो धितोपत्र बोर्डको अनुगमन ?


काठमाडौं, मसिंर ९ । बजार घट्न थालेपछि धेरैले सामुहिक लगानी कोष माथी समेत शंका गर्न थालेका छन् । बजार घटाउनुमा सामुहिक लगानी कोषको हात रहेको भन्दै लगानीकर्ताहरु सार्वजनिक रुपमा वक्तव्य बाजी मात्र गरिरहेका छैनन्, धितोपत्र बोर्डबाट हुने नियमित अनुगमनलाई पनि यही पाटोको रुपमा हेरिरहेका छन् ।

तर धितोपत्र बोर्डले यसलाई नियमित अनुगमन मात्रै रहेको उल्लेख गरेको छ । ‘सामुहिक लगानी कोषले बजार बढाइदिनु पर्ने र घटेको बजारमा पनि खरिद गरिदिनु पर्ने भन्ने जुन लगानीकर्तामा भ्रम छ, त्यो वास्तविकता होइन र हाम्रो नियमन सधै झै नियमन नै हो, नियमन भनेपछि सुक्ष्म त हुन्छ नै,’ नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले बताए ।

धेरै लगानीकर्ताहरुमा अहिले पनि भ्रम रहने गरेको छ की सामुहिक लगानी कोष र बजार निर्माता (मार्केट मेकर) भनेका एकै हुन् । तर यस्तो होइन । बजार निर्माता नै नभएपनि बजारमा संस्थागत लगानीकर्ताको प्रवेशले बजार चाँडै अस्थिर हुदैनन् भन्ने मान्यता मात्र हो । किनभने बजारमा साना तथा व्यक्तिगत धेरै लगानीकर्ता भएमा बजार स्वभाविक हुँदा पनि उनीहरुको मनोविज्ञान दरिलो भएन भने बजार घट्छ र त्यस्तोमा सामुहिक लगानी कोष जस्ताहरुले तर्क संगत रुपमा लगानी बढाउने भएकोले बजार सम्हालिन्छ भन्ने मान्यता हो ।

यस्ता योजनाहरु पनि नाफामुखी भएकोले लगानीकर्ताहरुले तिरिरहेको अस्वभाविक मुल्यमा पनि यीनले शेयर खरिद गरिदिन्छन् र बजार घट्नबाट बचाउँने छन् भनेर सोच्नु गलत हुने छ । यस्ता योजना सञ्चालन गर्न संस्थामा छुट्टै योजना व्यवस्थापकहरु हुन्छन्, उनीहरुको रणनीति अनुसार नै योजनाको रकमबाट शेयर किनबेच गरिन्छ । बजार घट्दै जाँदा शेयर अण्डरभ्यालुड भएको लागेमा कसैले नभने पनि यस्ता योजनाले शेयर खरिद गर्छन् ।

शेयर खरिद गर्न र बिक्री गर्ने कुरा यस्ता योजनाको आन्तरिक निर्णयमा नै भर पर्ने गर्छ । धितोपत्र बोर्ड वा नेप्सेले किनबेचमा बाध्यकारी नीति लगाउने व्यवस्था रहेको छैन् । उनीहरुको शेयर किनबेचलाई स्वभाविक बनाउन सामुहिक लगानी कोषसम्बन्धि नियमावलीले नै कुनै पनि संस्थाको साधारण शेयर खरिद गर्दा कुल शेयरको १० प्रतिशतसम्ममात्र खरिद गर्न सक्ने गरि पहिले नै तोकिदिएको छ । त्यस्तै, उनीहरुले हरेक महिना आफ्नो लगानीको विवरण राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।

रकम होल्ड गर्न पाइदैन ?
अहिले कतिपय लगानीकर्ता यस्ता कोषले शेयर बिक्री पछि बजारमा तुरुन्त लगानी नगरेको र रकम होल्ड गरिरहेको भन्दै यो नियम विपरित भएको तर्क पनि गरिरहेका सुनिन्छ । यससम्बन्धमा कुनै बाध्यकारी नियम भने छैन् । सामुहिक लगानी कोषले आफ्नो रणनीति अनुसार लगानी गर्ने हो । नियमले यसलाई रोक्ने भनेको कुनै संस्थामा निक्षेपको रुपमा कुल निक्षेपको दश प्रतिशतभन्दा बढि राख्न नपाउँने भन्ने हो । कतिपयले आफ्नो प्रबन्ध पत्रमा लगानीको क्षेत्र उल्लेख गर्दा बिभिन्न वित्तीय उपकरणमा निश्चित सिमामा लगानी गर्ने भनेर तोकिएको हुन्छ । तर लगानी अवसर अभाव हुँदा यस्तो सीमामा ठुलो अन्तर हुन नमिलेपनि केही तलमाथी भने पर्न सक्छ ।

किन सहुलियत ?
अहिले पनि सामुहिक लगानी कोषको लागि भनेर हरेक निष्काशनमा ५ प्रतिशत छुट्याउँनु पर्ने व्यवस्था छ । यस्तो शेयर पनि खरिद गर्न कोही अनिवार्य भने भएको मानिदैन् । कम्पनी सही लागेमा यिनले प्राथमिक शेयर खरिद गर्छन् भने नलागेमा खरिद गर्दैनन् । साना साना लगानीकर्ताको सामुहिक लगानी कोषमा सहभागिता रहने भएको र बजार प्रतिको बुझाई यस्ता लगानीकर्तामा बिकास गर्न यस्ता कोष उपयोगी हुनसक्ने अवधारणाको आधारमा यस्तो सहुलियत दिइएको हो ।

त्यस्तै, सामुहिक लगानी कोषले गर्ने आर्जनमा पनि कर छुट दिइएको छ । तर यस्तो कर छुट सामुहिक लगानी कोष सञ्चालक संस्थालाई भने हुँदैन् । कोषले गरेको आय सर्वसाधारणको हुने भएकोले उनीहरुलाई प्रेरित गर्न यस्तो छुट दिइएको हो । यस्तो छुट हुँदा लगानीकर्ताले लाभांश बढि पाउँने (करको रकम समेत लाभांशको रुपमा पाउने हुनाले) हुन्छ । कोषको इकाई लगानीकर्ताले पाउने लाभांशमा नै यो छुट दिनुपर्ने आवाज कोष सञ्चालकहरुले उठाउदै आएको भएपनि सरकारले भावी दिनमा यस्तो व्यवस्था गर्ने आश्वासन दिदै आएको छ । यस्तो भएमा सर्वसाधारणले प्रत्यक्ष लाभ उठाउने मानिन्छ ।

क्षमता कति ?
अहिलेपनि बजारमा सामुहिक लगानी कोषभन्दा बढि क्षमताका इन्भेष्टमेन्ट फण्डहरु पनि सञ्चालनमा रहेका छन् । तुलनात्मक रुपमा बढि क्षमताका फण्डहरु छन् । १७ खर्बको बजारमा कुल ६/७ अर्बको रकम बोकेर बसेका यस्ता योजनाको कुनै भुमिका नै हुदैन भन्ने होइन । तर, बजारमा नियमनको दायरामा नआउँने कयन व्यक्तिगत तथा संस्थागत फण्डहरु छन् । त्यही भएर शेयर कर्नरिङको सम्भावना सबैबाट हुने अवस्था भने नकार्न सकिदैन् ।

आवश्यक के ?
अस्वभाविक बजार घटबढबाट बचाउन सामुहिक लगानी कोषकोभन्दा पनि मार्केट मेकरको भुमिका महत्वपुर्ण हुन्छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलाई यस्तो भुमिका दिने भनेर बर्षौदेखि भनिदै आएपनि हालसम्म यो गफमा मात्रै सिमित भएको छ । तर बिचार गर्नुपर्ने कुरा के हो भने मार्केट मेकरले पनि बजार अस्वभाविक बढ्दा शेयर किनेर लगानीकर्तालाई प्रफिट बुकिङको अवसर दिन्छ भन्ने होइन् । यसले बजार अस्वभाविक बढ्न लागेमा शेयर बिक्री चाप बढाएर नियन्त्रण गर्छ भने बजार अस्वभाविक घट्न थालेमा खरिद गरेर ।

फेसबुकबाट तपाईको प्रतिक्रिया