ब्रोकरलगायत संस्थाहरुले आफ्नो लागि आफैले शेयर किन्ने आदेश दिन पाउँने, चुक्तापुँजी ५ करोड भए पुग्ने

आवश्यक सुझाव माग गर्दै धितोपत्र बोर्ड


काठमाडौं, मसिंर ६ । ब्रोकर लगायतका संस्थाहरुले अब आफ्नै लागि शेयर किन्न आफैले आदेश दिन (आदेश प्रविष्टि गर्न ) पाउँने भएका छन् । यस्तो व्यवस्थाको लागि तयार भएको ‘धितोपत्र व्यापारी (डिलर) को लागि धितोपत्र कारोबार कार्यविधि २०७३’ मा आवश्यक सुझाव माग गर्दै धितोपत्र बोर्डले ब्रोकरहरुलाई पत्राचार गरेको छ ।

धितोपत्र व्यापारी वा डिलरको रुपमा रहने ब्रोकर बाहेक अन्य संस्थाले समेत कार्य गर्न सक्ने गरि मस्यौदा तयार भएको हो । यस्तो कार्य गर्न चहाने संस्थाले धितोपत्र बोर्डबाट अनुमती र नेप्सेबाट सदस्यता भने लिनुपर्ने हुन्छ । यस्तो संस्थाको चुक्ता पुँजी न्युनत्तम ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यस्तो चुक्तापुँजी बैंकमा राखिएको निक्षेप वा तरल सम्पत्तीको रुपमा पनि हुन सक्ने व्यवस्था गरिएको छ । व्यापारीले कारोबार गर्दा पनि चुक्तापुँजी कै सीमामा रहेर कारोबार गर्न पर्ने हुन्छ ।

यस्तो कारोबारको लागि अलग्गै स्क्रिन प्रयोगको व्यवस्था हुने कार्यविधिको मस्यौदामा उल्लेख छ । तर व्यापारीले आफुले कारोबार गर्न चाहेका कम्पनीहरुको नाम नेप्से समक्ष प्रस्तुत नगरि कारोबार गर्न पाउँने छैनन् । लगानी गरिने कम्पनी परिवर्तन गर्न परेमा नेप्सेलाई लिखित जानकारी पनि गराइ राख्नुपर्ने हुन्छ ।

व्यापारिक प्रयोजनाको लागि कुनै सूचीकृत धितोपत्रको कारोबार गर्न परेमा भने थप कम्तिमा ५० लाख रुपैयाँ धरौटी राख्नु पर्ने हुन्छ । यस्तो धरौटी कारोबार पछिको राफसाफ गर्न प्रयोगमा भने ल्याउन नपाइने गरि मस्यौदा तयार पारिएको छ ।

कारोबारको क्रममा खरिद गर्न चाहेको शेयर उपलब्ध नभएमा खरिद आदेश मात्र प्रविष्टि गर्नुपर्ने र पछि शेयर आएर कारोबारभएमा खरिद र बिmत्री मुल्य दुवै उल्लेख गर्नुपर्ने हुन्छ । धितोपत्र व्यापारीबीच मात्र पनि शेयर कारोबार गर्न सकिने व्यवस्था गरिएको छ । तर व्यापारीले पहिलो प्राथमिकता भने ग्राहकबाट प्राप्त खरिद बिक्री आदेशलाई नै दिनुपर्ने हुन्छ ।

यसको नियमनको लागि नेप्सेले समयसमयमा आवश्यक शर्तहरु तोक्न सक्ने व्यवस्था गरिएको छ । बजारमा हाल ब्रोकरले आफ्नो लागि शेयर खरिद बिक्रीगर्न सक्ने व्यवस्था छैन भने अन्य व्यक्ति वा संस्थाले शेयर खरिद बिक्री गर्न परेमा ब्रोकरमार्फत् गर्नुपर्ने व्यवस्था छ । नयाँ नियम आएपछि भने ब्रोकर वा अन्य संस्था स्वयमले काम गर्न सक्ने छन् ।

ब्रोकरहरुले अहिले अप्रत्यक्ष रुपमा आफ्नो लागि शेयर खरिद गर्ने गरेको आरोपहरु बीच आउन लागेको यो व्यवस्थाले त्यस्तो कारोबारलाई निगरानीको दायरामा ल्याउने अपेक्षा गरिएको छ । यद्यपी धेरैले हाल जस्तै नियमन तथा सुपरिवेक्षण फितलो भएमा भने यसको फेरी पनि लाभ गलत पक्षले लिनेमा ध्इान आकर्षण गराएका छन् ।

हाल मस्यौदाको रुपमा रहेको यो कार्यविधि पारित भएपनि तत्काल कार्यान्वयनमा भने आउन नसक्ने धितोपत्र बोर्डका एक अधिकारीले बताए । नेप्सेले यसको लागि विनियम समेत तयार पार्नु पर्ने र धितोपत्र बोर्डले पनि यो विषयलाई ऐनमा समावेश गर्नुपर्ने उनको भनाई थियो । यस आधारमा हेर्दापनि यो व्यवस्था केही महिना भित्रमा नै आउने सम्भावना भने रहदैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया