आधा अर्बको कारोबारले नथेगेको एभरेष्ट बैंक ‘पुर्णिमा पछिको औंशी’ !

दिपक शाक्य, शेयर लगानीकर्ता

बिहीवार एभरेष्ट बैंकको एकै दिन ५१ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भयो । खुद्रा (ब्लक बाहेकको) कारोबारबाट एकै दिन एउटा कम्पनीको यत्रो रकमको शेयर किनबेच भएको सम्भवतः इतिहासमा नै पहिलो पल्ट हो ।

बैंकको ७० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद शेयरको घोषणाले उच्च परिणाममा कारोबार भएको प्रष्टै छ । तरपनि यस बैंकको कारोबारमा मुल्य बढ्न नसकेकोमा भने धेरैले अचम्म मानेका छन् । यत्रो घोषणापछि पनि बैंकको मुल्य घट्यो भन्ने प्रश्न धेरैले गरेका छन् ।

घोषणा हुनुअघि नै पनि बैंकको लाभांशको जानकारी बाहिर आएकोले मुल्य घटेको मान्नेहरु पनि छन् । मैले पनि घोषणा हुनु तीन दिन अगावै बजारमा हल्ला सुनेको थिए । मेरो मुल्यलाई लिएर लक्ष्य ४ हजार रुपैयाँको थियो । बैंकको तीन महिनायताको कारोबार हेर्ने हो भने मुल्य बढ्दा यो अवधिमा १२ प्रतिशतसम्म मात्र वृद्धि भएको छ । तीन महिनाको अवधिमा यसको मुल्य ३ हजार ३ सयदेखि ३ हजार ७ सय ९५ रुपैयाँको रेञ्जमा नै रहेर साइडवेज मुभमेन्टमा रहेको थियो । हुनतः बुधवार र विहीवार नै पनि अन्तरदिनको कारोबारमा बैंकको शेयर मुल्य ३ हजार ९ सय सम्म पुग्यो तर थामिएन ।

बैंकको मुल्य अधिक भइसकेकोले अहिले बैंकको शेयर खरिद गर्नु वृद्धिमानी नहुने देख्छु । अहिले बैंकको मुल्य ३ हजार ६ सय २९ रुपैयाँ रहेको छ । एक दुई सातामा नै बैंकको बोनस शेयरको लागि बुक क्लोज हुने छ । अहिलेको ७० प्रतिशतको बोनस समायोजनको क्रममा ५२ प्रतिशत मुल्य घट्दा पनि शेयर मुल्य १ हजार ९ सय देखि २ हजारमा रहने निश्चित छ ।

तर सबैभन्दा महत्वपुर्ण कुरा एभरेष्ट बैंककै कारण पछिल्लो केही साता थामिएको शेयर बजारमा यसको समायोजनले बैंकिङ सेक्टरमा हलचल ल्याउँने छ । समग्र बजारमा पनि यसको असर देखिने छ । 

अहिले व्यक्तिगतभन्दा कर्जा लिएर बैंकको शेयर किनेका लगानीकर्ताहरुले समायोजनसंगै मार्जिन कलको सामना गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले पनि बैंकहरुलाई मार्जिन लेण्डिङमा कडाई गरेर धितोको ५० प्रतिशत मात्र दिन पछिल्लो पटक निर्देशन गरेको छ । यो निर्देशनले पनि लगानीकर्तालाई पुँजी प्राप्त गर्न थप कठिन हुने छ । यस्तोमा मार्जिन कलको सामना गर्न नसक्ने लगानीकर्ताहरुबाट बैंकको शेयर बिक्री चाप बढ्ने छ । घट्दो बजारमा यस बैंकको बिक्री चापले शेयर बजारलाई थप बढ्न अवरोधको काम गर्ने छ ।

समायोजनपछि बैंकको शेयर मुल्यलाई पनि अहिलेको तह भेट्न गाह्रो पर्छ । बोनसपछि आउने हकप्रदको समायोजनले पनि मुल्य यो तहमा पुग्नबाट रोक्ने छ । यसबाहेक बैंकबाट अन्य ‘गुड न्युज’ आउँने सम्भावना पनि छैन् । बोनस र हकप्रद निष्कासनपछि बैंकको चुक्ता पुँजी ६ अर्ब माथी पुग्ने छ । बैंकले तोकेको चुक्तापुँजी पुर्याउन त्यसपछि २५ देखि ३० प्रतिशत बोनस शेयर दिए पुग्ने छ । सोही दरमा बोनस शेयरको लागि मुल्य पनि यही दरमा नपुग्ने स्पष्ट नै छ । चुक्ता पुँजी वृद्धिको बिषयमा लामो अन्तरद्वन्द्वपछि एउटा निश्चित निर्णयमा पुगेको बैंकले तत्काल थप बोनस लाभांशमा जोड नदिने सजिलै अनुमान गर्न सकिन्छ । त्यसैले एभरेष्ट बैंक अहिले पुर्णिमाको अवस्थामा छ भन्दा अतियुक्ति हुदैन्, बजार बुझेका लगानीकर्ताहरुले यो कुरा बुझेका छन् र धेरै लगानी बढाएका छैनन् । पुर्णिमापछि आउने त औंशी नै हो । (टेलिफोन कुराकानीमा आधारीत)

यो उनको व्यक्तिगत बिचार हो । उनी लामो समयदेखि शेयर बजारमा सक्रिय छन् । 

12 COMMENTS

  1. haina yo articleko lekhak ko ho bhanne mention nagari yo lekhak ka niji bichar hun bhanda hamile k bhujhne?? haina yasto lai kasto aarthik patrakarita bhanne?? ali maturity dekhauna ho sathi ho content publish garda….

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया