शेयर ब्रोकरबाट उद्योगी बन्दै मुन्दरा, सीता एयरलाइन्स र शिवम सिमेन्टसम्म लगानी



नन्दकिशोर मुन्दरा, शेयर ब्रोकर

काठमाडौं, असोज ८ । पुराना शेयर ब्रोकर नन्द किशोर मुन्दराको आर्थिक जग “व्यवसाय” हो । तर यो आर्थिक समुन्नतीको पिलर बन्यो, शेयर बजार ।

‘हामी नेपालमा आएपनि सानो तिनो व्यवसायमा लाग्यौं, तर शेयर र जग्गामा लगानी गर्न थालेपछि हामीहरुको आर्थिक समुन्नती हुँदै गयो,’ मुन्दरा भन्छन् ।

मुन्दराको परिवार भारतबाट बिसं १९७१ सालमा नेपाल प्रवेश गरेको हो । नयाँ ठाँउ नयाँ परिवेशमा केही वर्ष संघर्ष स्वभाविक नै हो । मुन्दराका पिता बाल किशन मुन्दराले नेपाली किसानसँग पाट खरिद गर्ने र मिलरहरुलाई सप्लाई गर्न थाले । मिलरहरुले नेपाली किसानले उत्पादन गरेको पाट बेलायत, स्कटल्याण्ड लगायतमा देशमा निर्यात गर्दथे । शेयर ब्रोकर मुन्दराका पिता पनि एक हिसाबले पाटका ‘ब्रोकर’ नै थिए ।

त्यतिखेरसम्म ‘नेपाल जस्तो भारत भने बिदेशीको लागि खुलेको’ थिएन । नेपालमा आयात शुरु भइसकेको थियो । तर भारतमा आयात नहुने भएकोले नेपाल आयात हुने अधिकांश सामान नेपाली बाटो हुँदै भारत तर्फ नै जान्थ्यो । मुन्दरा परिवारले पनि विराटनगरमै पसल खोल्यो, बिदेशी सामान हुने पसल । पसलभन्दा पनि यो ‘भण्डारण’ जस्तो थियो । झिटि गुन्टाको व्यवसायले राम्रै आम्दानी दिइरहेको थियो । अब उनीहरुको व्यवसाय बिराटनगरमा मात्र सिमित भएन ।

उनको समुदायका अधिकांश काठमाडौंमा पनि व्यवसायको विस्तारमा आउँन थाले । मुन्दरा परिवाले पनि व्यवसाय सिफ्ट गर्यो । नेतृत्व गरे उनका दाजु बेनी गोपाल मुन्दराले । न्युरोडमा पसल राख्ने, बिदेशबाट सामान आयात गर्ने र ती सामान भारतबाट बिक्रीको लागि पठाउँने ।

‘हामीसँग सामान खरिद गर्न भारत सामान सप्लाई गर्ने व्यापारी आउँथे पसलमा, उनीहरुले नै चोर बाटोबाट सामान पठाउँथे, हाम्रो त्यसमा संलग्नता हुदैन्थो,’ मुन्दरा स्पष्ट पार्छन् । मुन्दाराले पनि आफ्नो पारिवारिक व्यवसायको राजपाट सम्हाल्न थालिसेका थिए ।

‘म पनि सानैदेखि व्यवसायी हुँ, १२ वर्षको उमेरदेखि नै म हाम्रो पारिवारीक व्यवसायमा सामेल भए,’ मुन्दरा सम्झन्छन् ।

nanda-son

२०१७ बाट नेपालमा आयकर लगाउँन शुरु भयो, मुन्दराहरुको काठमाडौंमा २०२४ सालबाट व्यवसाय शुरु भयो । तर अर्काे १५ वर्षसम्म पनि सरकारले कर व्यवस्थित गर्न सकेन ।

‘सरकारका अधिकारी नै आएर ‘मन’ ले जति दिन मन लाग्छ कर दिनुस भन्थे, कर छल्नु स्वभाविक जस्तै थियो,’ मुन्दराले अनुभव सुनाए, ‘हाम्रो व्यापार एकै दिन १ लाख रुपैयाँसम्म हुन्थ्यो, तर कर भने हामी ५ सय रुपैयाँ बुझाउँथ्यौं ।’

२०३६ सालमा दैनिक १ लाख व्यापार !

‘हो रातमा २ घण्टा पनि सुत्न पाइदैनथ्यो,’ मुन्दरा संघर्षका कथा सुनाउँछन् । त्यसैले उनीहरुलाई विराट नगरमा पुँजी पति बनायो । उनीहरुले जग्गामा प्रशस्त लगानी गरे । कम कर तिर्दै आएकोले सरकारी हिसाबमा भने सबै सम्पत्ती देखिएन ।

‘अहिले पनि हामी व्यवसायीहरुले एक पटकको लागि सम्पत्ती घोषणा गर्ने अवसर सरकारसँग मागिरहेका छौं, तर सरकार मानिरहेको छैन्,’ मुन्दरा दुखेसो गर्छन् । विराटनगरमा चलेको भाषा आन्दोलनपछि नै भारतबाट नेपाल प्रवेश गरेका उनको परिवार जस्ता धेरैको सोच पुन: भारत फर्किने पनि रहेको थियो । तर, उनीहरुले यही संघर्ष गरे ।

nand-3

‘नेपाल अवसर नै अवसर भएको ठाँउ हो, त्यसैले हामीले नेपाल छोड्न सकेनौं, मेरो जन्म त नपालमै भएको हो, २०११ सालमा मेरो त मातृभुमी नै नेपाल भइसकेको थियो,’ नेपाल मै अड्डिनुको कारण बताउँछन्, मुन्दरा ।

मुन्दरा परिवारको परिचय आम मारवाडी समुदायहरुको सरह नै बन्यो, जसको व्यवसायको आकार अर्बाै रुपैयाँको छ । अर्बाै पुँजी हुने मुन्दरा जस्ता अनगिन्ती मारवाडीहरु नेपालमा छन् । तर, चर्चामा आइरहनेभन्दा आफ्नै लयमा काम गरिरहने उनीहरुको प्रवृत्ती हुन्छ । मुन्दराको  भने परिचय फेरिदै छ । उनी पनि देखिने व्यवसायीको दर्जामा उक्लिदै छन् । तर यसमा शेयर बजारको के योग्दान ?

‘स्ट्याण्डर्ड चार्टड, हिमालयन बैंकको शेयर शुरुमा खरिद गर्नेको अहिलेसम्म एक कित्ताबाट नै ३४/३५ लाख पुँजी पुगेको छ, म यो गफ दिइरहेको छैन्, मेरो हिसाबले ने देखाउँछ,’ मुन्दरा शेयरबाट हुनसक्ने आर्थिक वृद्धिको हिसाब किताब बुझाउँछन् ।

नेपालमा शेयर बजारको शुरुवात हुँदा ब्रोकरले पनि शेयर खरिद गर्न पाउँथे । करीब ५ वर्षअघिसम्म पनि पुराना ब्रोकर मुन्दरालगायत ईश्वरी रिमालहरुलाई बिभिन्न कम्पनीहरुको ०.५ प्रतिशतभन्दा माथी लगानी हुने शेयरधनीको सुचीमा देख्न पाइन्थ्यो । शेयर बजारमा गर्न थालेको लगानी नै उनको सम्वृद्धिको दरिलो खम्बा अर्थात् ‘पिलर’ बन्यो ।
त्यसपछि शुरु भयो, लगानी विविधिकरणको शिलशिला । शेयर बजारमा चलिआएको लगानी विविधिकरणको सिद्धान्त उनले व्यक्तिगत जीवनमा पनि उतार्दै गए । यद्यपी उनको व्यवसाय पारिवारिक तवरले नै अगाडी बढ्यो ।

260558_1258162734198435_3713510426481160050_n
२०५० सालबाट जग्गामा लगानी बढाएको मुन्दरा परिवारले २०५८ साल यता शेयरमा लगानी गर्यो । कतिपय सुचीकृत नभएका संस्थाहरुमा समेत यो परिवार साझेदारी लगानीबाट अगाडी बढ्यो । यो क्रममा यो परिवारले बिराट नगरमै बाबा जुट मिल खरिद गरेर सञ्चालन गर्न थाल्यो । सहोदर दाजु भाईका छोराहरुबाट सञ्चालित कतिपय व्यवसायको बार्षिक आम्दानीको हिसाब समेत स्मरण छैन्, मुन्दरालाई ।

‘हाम्रो व्यवसायको समग्रमा नै पारिवारिक हिसाब हुन्छ,’ मुन्दरा भन्छन् । जुट मिलमा भने उनको परिवारको मात्रै लगानी छ । त्यस्तै, बिराटनगरमा नै रहेको गहना पसलमा पनि परिवारको एकल लगानी छ । त्यही सञ्चालनमा रहेको हिमगिरी सोप, जसको अहिले बार्षिक १ अर्बको कारोबार हुन्छ, त्यसमा यो परिवारको मात्रै ५० प्रतिशत लगानी छ । यसबाहेक त्यहीको एउटा विद्यालय, इष्टर्न इञ्जिनियरिङ कलेजमा परिवारको ३३ प्रतिशतको दरमा लगानी रहेको छ ।

आफ्नै नेतृत्वमा सञ्चालन भइरहेको शेयर ब्रोकर कम्पनी श्री कृष्णा सक्युरिटिज पनि ७/८ वर्षदेखि सञ्चालनमा छ । उनी शेयर बजार लगानी वृद्धिको राम्रो स्थल मान्छन् ।

‘मेरो एक जना ग्राहक सेनाका मध्ययम तहका अधिकरी छन्, मैले उनलाई एउटा बीमा कम्पनीको शेयर खरिद गर्न सल्लाह दिएको थिए, ५०० कित्ता शेयर ३ सय ५६ को हाराहारीमा खरिद गरेका उनी अहिले शेयर बजारबाट कराडौं कमाइ गर्ने लगानीकर्ता भएका छन्,’ मुन्दराले बजारको गरिमा गाए ।

अनि डुब्ने नि ?

‘बजारमा लगानीकर्ता डुब्दै डुब्दैनन् भन्न सकिदैन्, जो उच्च जोखिममा अल्पकालिन लगानी गरेर खेल्छ, उ डुब्ने सम्भावना पनि उत्तिकै हुन्छ,’ मुन्दराको अनुभवले भन्छ । उनलाई यो सामान्य प्रक्रिया लाग्छ ।

‘भग्वानले पनि सबैलाई धनि मात्र बनाउँदैन, सबैलाई गरिब मात्र बनाउँदैन नि,’ मुन्दराको तर्क छ । त्यसैले बजारमा दिर्घकालिन सोचबाट लगानी गर्न पनि उनले लगानीकर्तालाई सुझाव दिने गरेका छन् ।

जुटमिल, कलेज के यतिमा सिमित छ त मुन्दराको ‘बिजनेश’ ? उनी भविष्यको गन्य मान्य र प्रचलिन व्यवसायी बन्ने दौडमा पनि छन्, तर उनको रफतार आफ्नै गतिको छ ।

मुन्दराले विविधिकरणको शिलशिलामा केही जलविद्युत् कम्पनीमा लगानी गरेका छन् । तीन वर्षदेखि सञ्चालनमा रहेको साढे तीन मेगावाटको चर्नावती जलविद्युतमा उनको २० प्रतिशत बराबर लगानी छ । पाँच समुह मिलेर सञ्चालन गरेको यस जलविद्युतको शेयर सर्वसाधारणमा जारी गर्ने सोच समेत उनीहरुको छ ।

‘यो आयोजनाको चुक्ता पुँजी करीब १६ करोड छ, यसै वर्ष सर्वसाधारणमा शेयर जारी गर्ने लक्ष्य हो,’ मुन्दराले योजना सुनाए । त्यस्तै, २० मेगावाटको लोअर मोदीमा पनि उनले २० प्रतिशत हाराहारीमा नै लगानी गरेका छन् । करीब ९० करोड पुँजी रहने यो आयोजनाको निर्माण २०७४ मा सम्पन्न हुने छ ।

ढुक्क हुनुहोस् यसमा पनि तपाईहरुले लगानीको अवसर पाउँनु हुने छ ।

शिवम सिमेन्टमा पनि ८.५ प्रतिशत लगानी गरेका उनी लगायतको समुहले यस अघिनै पनि कम्पनीको सर्वसाधारणमा शेयर जारी गर्ने घोषणा गरिसकेको छ । अहिले सीता एयरलाइन्समा पनि लगानीको तयारी गरिरहेका मुन्दरा, यसलाई आफ्नो भन्दा पनि नयाँ पुस्ताको सोचको रुपमा लिन्छन् ।

mundara-family

‘मलाई व्यक्तिगत रुपमा एयरलाइन्स क्षेत्रको केही जानकारी छैन्, तर छोराहरुले यसमा ईच्छा देखाएका हुन्,’ मुन्दरा सुनाउँछन् । उनका चार दाजुभाईका गरेर चार जना छोरा छन् । अबको व्यवसायको बागडोर यीनै पुस्ताले लिने जमर्काे गरिरहेका छन् । सबै जसो छारोहरुले व्यवसायमा आफुलाई प्रमाणित नै गरिसकेका छन् ।

अनि २० प्रतिशत लगानी गर्ने योजना भइरहेको सीता एयरको शेयर नि, सर्वसाधारणलाई जारी नगर्ने ? मेरो प्रश्न तेर्सिहाल्यो ।

‘यो नयाँ क्षेत्र पनि हो । यसमा अनुभव लिदै छौं, यो व्यवसायमा सफलता हासिल भइरहेको सुनिदैन्, नयाँ पुस्ता यो क्षेत्रमा सफलता खोजिरहेको छ । सफल भएमा सर्वसाधारणलाई पनि सहभागी गराउँछौं नै । नेकन एयरलायन्स जस्तो भएर जनतामा गएर त भएन नि,’ उनले वार्तालाप टुंग्याउँदै भने ।

प्रस्तुती : विजयराज खनाल

फेसबुकबाट तपाईको प्रतिक्रिया