नाडा अटो शोमा गाडी किन्दै हुनुहुन्छ ? बीमाले यसरी गर्छ तपाईको जोखिम कभर

काठमाडौं, भदौं १४ । नाडा अटो शोमा लाखौं रकमका गाडीहरु प्रदर्शनीमा राखिएका छन् । नेपालमा बाटोको अवस्थाले दिनदिनै भइरहेको दुर्घटनाको खबर पनि सुन्नु भएकै होला । दुर्घटनाको जोखिम कम गर्न बीमा एउटा प्रभावकारी उपाय हुन सक्छ ।

IMG_7163 copy
निजी गाडीको बीमा कसरी गर्ने ?
निजी गाडीको बीमा गर्दा सर्वप्रथम त्यसको मुल्यांकन गरिन्छ । मुल्यांकनको लागि गाडीको क्षमता (सीसी), सिट संख्यालाई पनि आधार मानिन्छ । सिट संख्या र सीसीले पनि गाडीको मुल्यांकनमा फरक पर्छ । २० लाख रुपैयाँ पर्ने १ हजार सिसिको गाडी छ भने यसको ट्यारिफ दर १.२० प्रतिशत छ । भनेको अर्थ, अब तपाईले तिर्नुपर्ने बीमाको किस्ता शुल्क २४ हजार हुन आउँछ । त्यस्तै, २० लाख भन्दा माथीको हकमा जति रकम बढि हुन्छ । त्यो बढि रकमलाई ट्यारिफ दर १.६० प्रतिशतले गुणान गरिन्छ । यस आधारमा २२ लाखको गाडीको बीमा २७ हजार २०० रुपैयाँ हुन आउँनछ ।

त्यस्तै, गाडीको मुल्यांकनको क्रममा तेस्रो पक्ष बीमा समावेश गर्नु भयो भने थप ३ हजार रुपैयाँ लाग्ने छ । तर मुल्यांकनमा यो रकम जोड्नु भएन भनेपनि क्षतीपछि दाबी भएमा भने यो रकम कटौती गरेर मात्र तपाईले बाँकी रकम पाउँनु हुन्छ ।

यस्तै, तेस्रो पक्षमा जस्तै सुविधा स्वेच्छिक अधिक लिने वा नलिने भन्नेमा पनि हुन्छ । यो सुविधा लिदा मुल्यांकनमा १ हजार देखि ५ हजार रुपैयाँसम्म घटाउँन पाइन्छ । तपाई गाडी चलाउदा कम जोखिम देख्नु हुन्छ भने १ हजार सम्मको यस्तो सुविधा लिन सकिन्छ । तर यो सुविधा नलिएमा र दुर्घटना भएमा भने तपाईको दाबी रकममा १० हजार (स्वेच्छिक अधिक १ हजार भएमा) वा १ लाख (स्वेछिक अधिक ५ हजार भएमा) यसलाई कटाएर मात्र बाँकी हुने क्षती कम्पनीले व्यहोर्ने प्रभु इन्स्योरेन्सका अधिकारीहरु बताउँछन् ।

बीमा गर्दा सीटको क्षमतालाई पनि आधार लिने गरिएको छ । युनाइटेड इन्स्योरेन्सका अधिकारीका अनुसार २० लाख रुपैयाँको ५ सिटे गाडीको बीमा शुल्क ३३ हजार ३१ रुपैयाँ सम्म पर्छ । यसमा पनि स्वेच्छिक अधिक सुविधा लिएर यो रकम घटाउन भने सकिन्छ ।

गाडीको कम्प्रिहेन्सिभ बीमा गराउँदा हुलदंगा, आतंक कभरेज पनि उल्लेख गर्नु भयो भने मुल्यांकनको ०.१५ प्रतिशत थप शुल्क तिर्न पर्ने हुन्छ । २० लाखको गाडीमा हो भने यो रकम ३ हजार र २२ लाखको गाडीमा भए ३ हजार ३ सय रुपैयाँ थप किस्ता तिर्नुपर्छ ।

गाडी बीमा गर्दा ब्लु बुक अनिवार्य हुन्छ । नाडा अटो शोबाट गाडी खरिद गरिसक्नु भयो तर ब्लु बुक हात परेको छैन् भनेपनि गाडी कम्पनीले दिएको खरिद रसिदको आधारमा बीमा गर्न सकिन्छ ।

गाडी किनेको धेरै भइसकेको ग्राहकले पनि गाडी बीमा गराउँन सक्छन् । यस्तोमा गाडीको मुल्यांकन गर्दा ह्रासकट्टी गर्ने चलन पनि छ । गाडी किनेको दास्रो वर्ष भइसकेको छ भने मुल्यांकन १० प्रतिशतले घटाएर गरिन्छ । १० वर्षसम्ममा चरणगत रुपमा मुल्यांकन ५० प्रतिशतसम्म घटाइन्छ । तर १० वर्षपछि भने मुल्यांकन बजार मुल्य वा खरिद मुल्यको ५० प्रतिशत रहिरहन्छ ।

के कसरी हुन्छ कभरेज ?
गाडीको बीमा गरेपछि क्षतीको दाबी भुक्तानीको लागि भने गाडीको भाग अनुसार कभरेज हुन्छ । गाडी पुर्ण क्षती भएमा कम्पनीले मुल्यांकनको पुरै रकम भुक्तानी दिन्छ । तेस्रो पक्ष बीमा र स्वेच्छिक अधिक कर्जामा लिइएको सुविधा अनुसार यो भुक्तानी फरक पर्न सक्छ ।

त्यस्तै, गाडीको क्षती त्यसको भागको आधारमा हुन्छ । कतिपय कम्पनीले गाडीको प्लास्टिकले बनेको भागको क्षती हुँदा ५० प्रतिशतले मुल्य घटाएर बाँकी भुक्तानी गर्छ । प्लाष्टिकले बनेका भागमा रबरले बनेका साथै टायर, ट्युब लगायत पर्छन् । ग्लासमा भने ३० प्रतिशतले मुल्य घटाएर भुक्तानी गर्छ ।

अहिले बीमा समितिले यात्रु बीमा अनिवार्य गरेको छ । यही कारण गाडीको मुल्यांकन गर्दा सिटलाई आधार लिएको हो । मुल्यांकनको क्रममा नै कम्पनीले प्रति यात्रु वा प्रति सिट ७ सय रुपैयाँ लिइएको हुन्छ । यात्रु बीमा वापत थप रकम भने कम्पनीलाई बुझाउँनु पर्दैन् । क्षतीको क्रममा यात्रुको मृत्यु भएमा कम्पनीले प्रतिव्यक्ति ५ लाख रुपैयाँ भुक्तानी गर्छ । त्यस्तै, मुत्यु भएन र अन्य औषधि उपचार खर्च लागेमा प्रति यात्रु ३ लाखसम्म भुक्तानी गर्छ । सिटभन्दा बढि यात्रु हुँदा भने सिट बराबरको यात्रुले मात्रै दाबी भुक्तानी पाउँछन् ।

हुलदंगा र आतंक पनि समावेश गरेर बीमा लिनेले भने पार्किङको क्रममा हुने टुटफुटको पनि क्षती पाउँछन् । यो समावेश नगर्नेले भने हुलदंगा र आतंकबाट हुने कुनै पनि क्षती भने पाउँदैन् । कम्प्रिहेन्सिभ प्याकेज लिदा चोरीको पनि कभरेज हुन्छ ।

त्यस्तै एकभन्दा बढि गाडीको बीमा गर्नु परमा कम्पनीका प्रतिनिधीहरुले ग्राहकको मै पुगेर बीमा बारे जानकारी दिने गर्छन् ।

नोट : यसअघि २२ लाख गाडीको  ट्यारिफ दर १.६०  आधारमा यसको बीमा किस्ता २७ हजार २०० रुपैयाँ हुनु पर्नेमा अन्यथा भएकोले सच्चयाइएको छ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया