अरुण सेक्युरिटिजलाई किन ठोस कारवाही गर्दैनन् नियमक ?


अरुण सेक्युरिटिज (Arun Securities, ब्रोकर नम्बर ३) को पुनः ७ दिन कारोबार रोक्का हुने भएको छ । कारोबार राफसाफको लागि बुझाउँन पर्ने रकम नबुझाएपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले कारवाही गरेको हो ।

यसअघि पनि पटक पटक कारवाहीमा पर्ने यो ब्रोकर कम्पनीले यसअघि सर्वसाधारणको लागि शेयर कारोबार नै नगरिदिने गरेको, गरेको कारोबारको पनि रकम राफसाफ नगर्ने गरेको उजुरी धितोपत्र बोर्डमा समेत परेको थियो । तर, आज सम्म न त धितोपत्र बोर्डले न त नेप्सेले यो कम्पनीलाई ठोस कारवाही गर्न सकेको छ ।

हुनतः अन्य ब्रोकर कम्पनीहरु पनि बेलाबेला कारवाहीमा पर्ने गर्छन् । कहिले काँही रकम अभाव लगायतका समस्या हुनु सामान्य कुरा हो त र यस कम्पनीको कुरा बेग्लै छ ।

यसअघि पनि नेपाल बैंकले खराब कर्जा उठाउन बेचेको ११ करोड रुपैयाँ बराबरको चिलिमे जलविद्युत् कम्पनीको सेयरको भुक्तानीमा कम्पनीले ढिलाई गरेको थियो। रकम बुझाउँन यो कम्पनीले केही महीना नै लगाउँने गरेको पनि छ ।

त्यस्तै, धेरै जसो व्यक्तिगत कारोबार गर्ने यस कम्पनीले अन्य लगानीकर्ताहरुको रकम दिन महिनौ दिनसम्म लगाउँने गर्दै आएको छ । यसअघि चिलिमेको नक्कली शेयरको कारोबारको क्रममा पनि यही ब्रोकरमा कार्यरत छत्र थापा लगायतको पनि संलग्नता रहेको थियो ।

कम्पनीलाई पटक पटक कारोबार रोक्का गर्ने र चेतावनी दिने बाहेक नियामक निकायले किन अन्य कारवाही गर्न नसकेको हो ? ब्रोकरको अनुमति लिएर सर्वसाधारणलाई सेवा दिनेभन्दा आफ्नै कारोबार गर्ने यस्था संस्थाको किन अनुमती खारेज हुन नसकेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया