संसारकै महंगा मुद्रा नेपालमा सटही


काठमाडौं,पुस १९ । नेपाल राष्ट्र बैंकले संसारकै महंगा मध्येमा पर्ने दुई मुलुकको मुद्रालाई नेपालमा सटही सुविधा दिने भएको छ।विदेशी विनिमयको कारोबार गर्ने सस्थाहरुले सर्वसाधारणलाई विक्री गर्न नपाउने तर किन्न पाउने गरी कुबेत र बहराईनको मुद्राको खरिद दर तोक्न थालिएको हो। राष्ट्र बैंकले विहीबार देखि यी दुई मुलुकको मुद्राको खरिददर तोकेको हो। कुबेती र बहराईन दिनार संसारकै महंगा मुद्रा मध्येमा पर्छन्। राष्ट्र बैंकले पहिलो दिनका लागि कुबेती दिनारको खरिददर तीन सय ४९ रुपैयाँ६७ पैसा र बहराईन दिनारको दुई सय ६१ रुपैयाँ ९३ पैसा तोकेको हो। अन्य मुलुकका मुद्रा यो भन्दा निकै सस्ता छन्।यी दुई मुलुकपछि बेलायती मुद्रा पाउण्ड स्टर्लिङको मुल्य एक सय ६४ रुपैया २२ पैसा तोकिएको छ।

 नेपालमा हालसम्म १५ वटा मुलुकको मुद्राको खरिद विक्री सुविधा छ भने पाँचवटा मुलुकको मुद्राको भने खरिद दर मात्रै तोक्ने गरिएको छ। खरिद दर मात्रै तोकिएका मुद्रा सर्वसाधारणले किन्न पाउदैनन्। विदेशबाट आउने यी मुद्रा नेपालमा बिक्री गर्न दिनका लागि खरिद तोकिएको हो। कुबेत र बहराईन नेपाली कामदारहरुको गन्तव्य मुलुक हुन्। यी मुलुकमा कामका लागि जाने नेपालीले स्वदेश फर्कदा ल्याएको दिनार विक्री गर्न पाउने व्यवस्था थिएन। कामदार सहित अन्य व्यवसायिक गतिविधि गर्नेहरुलाई सहयोग पुर्याउने उद्देश्यले यी दुई मुलुकका मुद्राको खरिद दर तोकिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया