भन्सारको मारमा चामल उद्योग


भारतबाट भित्रने चामलमा भन्सार मूल्य भएपछि, नेपालका प्रायजसो चामल मिल धमाधम बन्द हुने अवस्थामा पुगेका छन् । चामल आयातकर्ता र भन्सार कर्मचारीको मिलेमतोमा आयातित सबै प्रकारमा चामललाई मोटो चामलका रुपमा भन्सार मूल्य लगाएर बजारमा ल्याएपछि नेपाली चामल उद्योगको मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा पुगेका छन् ।
नेपालमा सञ्चालित चामल उद्योगले झण्डै ६५ प्रतिशत धान नेपाली उत्पादन नै प्रयोग गर्छन् भने ३५ प्रतिशत भारतबाट आयात गर्दै आएका छन् तर पनि भारतबाट धानको सट्टा चामल नै न्यून भन्सार मूल्यमा नेपाल भित्रन थालेपछि नेपालका धेरै चामल उद्योग बन्द हुन थालेका हुन ।

यसरी उद्योगहरु दिनानुदिन बन्दै हुँदै गएपछि प्रत्यक्ष रोजगारी पाएका हजारौं मानिसहरु बेरोजगार हुने निश्चित छ । नाफाका दृष्टिले हेर्दा चामल उद्योग स्थापना गरेर चामल आयत गरी विक्री गर्ने प्रवृतीले उपभोत्तालाई फाइदा नै पुर्याए पनि समग्रमा देशको आत्मनिर्भरतामा प्रश्नचिन्ह खडा गराएको छ  र यदि यस्तै गति क्रमिक रुपमा अघि बढ्ने हो भने नेपालका हरेक उद्योग चामल उद्योग जसरी नै डामाडोल हुने खतरा नआउला भन्न सकिदैन ।

सन् २०१२ मा धानबाट मात्रै ७.५ प्रतिशतको कुल ग्राहस्थ उत्पादन भएको थियो तर यसरी चामल मिल नै बन्द हुन थालेपछि आगामी दिनमा धानबाट आउने उल्लेखित ग्राहस्थ्य उत्पादन घट्न सक्ने सम्भावनालाई नकार्न सकिदैन ।

तसर्थ धान उत्पादक तथा चामल मिल उद्योगीहरुलाई प्रेरित गर्न र नेपाललाई आत्मनिर्भर बनाउनको लागी पनि नेपाल सरकार अघि लाग्नुपर्छ साथै डुब्नै लागेको चामल उद्योगलाई जोगाउन निजी क्षेत्रसँग छलफलमा सरकारले ध्यानाकर्षण हुन जरुरी छ ।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया